काठमाडौँ - उपत्यकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने सम्झौता भएको नौ महिनासम्म पनि काम हुन सकेको छैन।
काष्ठमण्डप पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने गरी गत वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माण गर्न दिने सम्झौता भएको थियो।
सम्झौता लगत्तै स्थानीय तह निर्वाचन भई महानगरपालिकामा पदाधिकारी निर्वाचित भएपछि आफैँ बनाउने भन्दै काम गर्न नदिएको अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए।
“असार ६ गते महानगरपालिकाले पुनःनिर्माणका लागि शुरु गरिएको काष्ठमण्डप क्षेत्रमा ताला लगाई साँचो लिएर हिँड्यो, त्यसपछि महानगरपालिकाले आफूले पनि बनाएन, हामीलाई पनि बनाउन दिएन,” उनले भने। अभियानले पहिलेकै स्वरुपमा काठमाडौँको नामकरण भएको ऐतिहासिक स्थल पुनःनिर्माण गर्ने १५ बुँदे सम्झौता पत्रमा उल्लेख थियो।
समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यमलाल भुसाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौंँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र काष्ठमण्डप पुनःनिर्माण अभियानका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका थिए।
काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने एवं संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर, पारदर्शी रुपमा निर्माणलाई नमूना बनाउनुपर्ने स्थानीयवासीको माग छ। पुनःनिर्माणका लागि अभियानलाई दुई वर्षको समय दिए पनि नौ महिनासम्म केही काम भएको छैन।
पुनःनिर्माणमा विवाद भई आपसी समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट गरिने निर्णय अन्तिम हुने सम्झौता पत्रमा उल्लेख थियो। महानगरले ताला लगाएर काम गर्न नदिएपछि अभियानले प्राधिकरणलाई पत्र लेखी जानकारी गराएको थियो । त्यसपछि प्राधिकरणमा बसेको बैठकले महानगरलाई नै काम गर्न दिने निर्णय गरेपनि काम गर्न सकेको छैन । महानगरपालिकाले वर्खामा सम्पदा सुरक्षित गर्न ओत समेत लगाउन नसकेपछि अभियानले नै किनेर ल्याएको बाँसको प्रयोग गरेर ट्रस बनाएको थियो।
सम्झौता अनुसार महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माणमा लाग्ने काठ लगायतका जिन्सी सामग्री उपलब्ध गराउनुपर्ने थियो। महानगरपालिकालाई दिएको जिम्मेवारी अनुसार काम नभएपछि पुरातत्व विभागले पुस १८ गते पत्र लेखी छिटो काम शुरु गर्न भनेको छ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की विभागबाट नक्सा बनेर आई पास गरिसकिएकाले स्थानीयवासीसँग छलफल गरी काम अघि बढाउने तयारीमा लागेको बताए। भूकम्पपछि विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनको पहलमा काष्ठमण्डपमा भएको उत्खनन्ले सातौँ शताब्दीमै यो ऐतिहासिक स्थल बनेको तथ्य फेला परेको छ।
यसअघि काष्ठमण्डप १२औँ शताब्दीमा बनेको सङ्गीति ग्रन्थमा फेला परेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्मराज बाँस्कोटाले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।