कविता : दौड 

मनोज पण्डित | २०७६ असार २८ शनिबार | Saturday, July 13, 2019 ०६:४७:०० मा प्रकाशित

म दौडिरहेको  छु 
 जित्नु छ 
नहार्नु  छ 
त्यसको लागि  हराउनु  छ 
जित्न नदिनु पनि  छ 
म दौडिरहेको छु या लडिरहेको छु 
मलाई थाहा छैन  

लाग्छ, म युद्धमा छु 
मार्न पनि सक्छु
 मारिन पनि सक्छु  

दोधारमा छु 
जीवन भन्दा मृत्युको चासो बढी छ 
यो दौडमा 
कसले दौडाइरहेछ, थाहा छैन   
दौडेर के पाउँछ, थाहा छैन       

मलाई जन्मने बित्तिकै दौडाए
दौडिरहेको छु 
दौडको अन्तिम घेरा थाहा छैन 
दौडको नियम पनि थाहा छैन 
केवल जित्नु पर्यो 
हार्नु भएन 
हराउनु पर्यो 
जित्न दिनु भएन 

दौडिँदा दौडिँदै थाकेर बसेँ भने 
म अयोग्य ठहरिन्छु 
तर, थकाइ बेस्सरी लागेको छ 
तैपनि दौडिन्छु 

अयोग्य बन्नु छैन मलाई 
अयोग्य हुनु अपराध हो 
त्यसैले थाक्दै दौडिन्छु म 

पैतालाबाट रगत किन नबगोस् 
नसाहरू किन नसुन्निउन् 
मैले जानेकै दौडिन हो 
मेरो जीवन नै दौड हो 
दौडहरूको दौड 

आँखा चिम्लेर म दौडन्छु 
देख्दछु सबै दौडिरहेका छन् 
भिड दौडिरहेको छ  

सबैका आँखा बन्द छन् 
पैतालबाट रगत बगिरहेकै छ 
अनि सबैका हातमा खन्जर छ 

मैले मेरो हात उठाएँ
देखेँ– मेरो हात रगताम्य खन्जर बोकिरहेछ 
रगताम्य सबै दौडिरहेका छन् 
मानौं रगतको नदी दौडिरहेछ
000