काठमाडौं- नेपालको कुल जनसंख्याको ठूलो हिस्सा न्यून सीपयुक्त रहेको एक अध्ययनले देखाएको छ। सरकारले अघिल्लो वर्ष असोज २८ गते गठन गरेको ‘जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना तर्जुमा कार्यदल’ले गरेको अध्ययनले यस्तो देखाएको हो।
काम गर्ने उमेर समूहको कुल जनसंख्यामध्ये ६४ दशमलव ७ प्रतिशत जनसंख्या न्यून सीपयुक्त र व्यवसायिक ज्ञान तथा क्षमताविहीन रहेको उक्त अध्ययनले देखाएको छ। कार्यदलका संयोजक डा. रुद्र सुवालका अनुसार अध्ययनले १ करोडभन्दा बढी व्यक्ति सीप तथा प्राविधिक क्षमताविहीन रहेको निष्कर्ष निकाल्दै अघिल्लो साता सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।
कार्यदलले काम गर्ने उमेर समूहको जनशक्तिलाई तह १ देखि तह ४ सम्म विभाजन गरेको छ। जसमा तह १ लाई न्यून सीप भएका प्राथमिक पेशाका कामदार, तह २ लाई मध्यम दक्षता र सीप भएको जनशक्ति, तह ३ लाई उच्च दक्षता र सीप भएका जनशक्ति र तह ४ लाई उच्च र उत्कृष्ट दक्षता र सीप भएका व्यक्तिका रुपमा वर्गीकरण गरिएको छ।
कार्यदलले जनशक्तिको अहिलेको अवस्थासँगै आगामी २५ वर्ष अर्थात् वि.सं २१०० मा हुनसक्ने जनशक्तिको पनि आँकलन गरेको छ। सबै भन्दा उच्च सीप तथा क्षमता भएको (सीप तह ४) जनशक्तिको हिस्सा आर्थिक वर्ष २०७४/७५ मा १ दशमलव ७६ प्रतिशत रहेको कार्यदलको अध्ययनले देखाएको छ। उक्त आँकडा आर्थिक वर्षमा २०९९/२१०० मा ३ दशमलव ८५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
सीप तह ३ को जनशक्ति आर्थिक वर्ष २०७४/७५ मा ४ दशलमव ४४ प्रतिशतबाट आर्थिक वर्ष २०९९/२१०० मा ११ दशमलव ४८ पुग्ने प्रक्षेपण गरिएको छ। त्यसैगरी, सीप तह २ को जनशक्तिको हिस्सा आव २०७४/७५ मा २९ दशमलव ७३ प्रतिशतबाट बढेर २५ वर्षपछि ५५ दशलमव २८ प्रतिशत पुग्ने प्रक्षेपित अनुमान गरिएको छ।
न्यून (कम) सीप क्षमता भएको जनशक्तिको हिस्सा हाल ६४ दशमलव ०७% रहेकोमा वि.सं २१०० मा पुग्दा घटेर २९ दशमलव ३९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
अर्थतन्त्रमा आएको आर्थिक संरचनाको परिवर्तनसँगै जनशक्तिको संरचनामा पनि परिवर्तन हुने मान्यताका आधारमा यो अनुमान र प्रक्षेपण कार्य गरिएको संयोजक सुवाल बताउँछन्। ‘जनशक्तिको यस्तो रुपान्तरणले मात्र उत्पादन र उत्पादकत्व बढेर अपेक्षित उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ भन्ने हाम्रो अध्ययनको निश्कर्ष छ,’ सुवालले भने।
कार्यदले सीप र दक्षताका आधारमा मात्र नभई पेशा र क्षेत्रगत रुपमा पनि जनशक्ति प्रक्षेपण गरेको छ।
पेशागत रुपमा जनशक्तिको औषत वार्षिक वृद्धिदर व्यवस्थापक ५ दशमलव ५९ प्रतिशत, पेशाविद ३ दशमलव ८२ प्रतिशत र प्राविधिक तथा सहायक पेशाविद ६ दशमलव ३८ प्रतिशत रहने अनुमान गरिएको छ।
त्यसैगरी, सहायक स्तरका कर्मचारीहरु तथा कामदारहरु वार्षिक रुपमा ६ दशमलव ६४ प्रतिशत, शिल्पकला तथा कालिगढसम्बन्धी व्यापार गर्ने कामदार ४ दशमलव ५ प्रतिशत, यन्त्र तथा मेसिन अपरेटर र जडान गर्ने कामदारहरु ५ दशलमव २२ प्रतिशत र कृषि वन तथा माछापालन कार्यका दक्ष कामदार २ दशमलव ३५ प्रतिशतले बढ्ने प्रक्षेपित अनुमान गरिएको छ।
प्राथमिक पेशाका कामदार भने वार्षिक रुपमा १ दशमलव ८९ प्रतिशतले घट्ने अनुमान गरिएको छ।
तस्बिर : अक्सफाम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।