अभिनेता राजेश हमालको नेपाली फिल्म यात्राले 'सिल्भर जुब्ली' मनाएको पनि धेरै भइसक्यो। यो यात्रामा उनले सयौं फिल्म खेले। थुप्रै उपनाम कमाए। लाखौं प्रशंसक पाए। कसैले राजेश दाइ, कसैले शंकर त कसैले 'महानायक' भनेर फुरुंग बनाइदिए।
तीन वर्ष भयो, अहिले उनी फिल्ममा देखिएका छैनन्।
फिल्म संख्या पातलिँदै गएपछि अहिले उनलाई अहिले प्रायःले सोध्छन्, 'नयाँ फिल्म कहिले आउँछ?'
यो सँगसँगै अर्को एउटा प्रश्न पनि छ, जसलाई उनले पटकपटक झेलिरहनुपरेको छ–
'बाबु कहिले बन्ने हो?'
कुनैबेला उनलाई यही प्रश्न सोध्दा चिरपरिचित हाँसोसहित ठट्यौली जवाफ दिएका थिए, 'म जवान छु, मधु जवान छिन्, खेती आफ्नै हो। विस्तारै भइहाल्छ।'
यसपल्ट बिलकुल अनौपचारिक भेटघाटका क्रममा उनलाई नेपाल लाइभकर्मी अनिल यादवले 'क्याजुअल' शैलीमा केही प्रश्न र जिज्ञासा राखेका छन्।
अब फिल्म नखेल्ने?
'बागमती' र 'शकुन्तला' फिल्म असफल भएपछि म अब फिल्म छनोटमा गम्भीर छु। फिल्म खेल्नका लागि मात्रै म फिल्म खेल्दिनँ। त्यसरी त कति फिल्म खेलियो, खेलियो। मेरा पछिल्ला यी दुवै फिल्म पनि नयाँ शैलीमा बनाइएका थिए तर नयाँ शैलीमा बनाएको भन्दैमा सबै राम्रा नहुने रहेछन्। 'बागमती' पूरा केरलाको टिम, केरलाकै निर्देशक, खर्च पनि राम्रै गर्ने भन्ने थियो तर अन्तिम परिणाम भने सोचेभन्दा फरक भयो। फिल्म नै अधुरो भयो। त्यस्तै, 'शकुन्तला'मार्फत् पहिलोपल्ट स्वास्नी मान्छेको अवतार गरेँ। कलाकार सधैं नयाँ भूमिकाको लोभी हुन्छ तर यसको पनि पूरा फिल्म स्तरीय भइदिएन। त्यसपछि म अलि निराश भएको हुँ र सतर्कता अपनाइरहेको छु।
फिल्मको अफर त टन्नै आइरहेको होला?
अफर त आइहाल्छ नि। तर, स्क्रिप्ट नै चित्त बुझ्दैन। मलाई सुहाउँदा भूमिका नै भेटेको छैन। स्क्रिप्ट पनि कति रमाइलो–रमाइलो आउँछन् भने एकपल्ट त एउटा टिमले 'राजेश हमालको छोरा जन्मियो' नाममै स्क्रिप्ट लिएर आएको थियो। मैले यो टाइटलमा फिल्म बनाउने हो भने त मलाई राख्नै पर्दैन नि, अरुलाई नै राख्दा हुन्छ भनेर भन्दिएको थिएँ।
कलाकारिता गर्दा आफ्नो करिअरदेखि सन्तुष्ट भएँ कि भइनँ भन्ने महत्वपूर्ण कुरा हो। सुपरस्टार या महानायक त्यो त अरुले माया गरेर दिने नाम हो। त्यो त सुनमा सुगन्ध हो।
राजेश हमालका लागि सफलता भनेको के हो?
मलाई सफलता भनेको जिम्न्यास्टिकको 'स्प्रिङ बोर्ड' जस्तै लाग्छ। उडान लिएपछि फेरि आउनुपर्ने जमिनमै हो। अनि, फेरि उडान लिन खोज्ने हो। एउटा बिन्दुमा सक्सेस (सफल) हुँदैमा हरेक कुरामा सक्सेस भइन्न । एउटा लाइफलाई सार्थक बनाउन हरेक कुरामा सक्सेस हुँदै जानुपर्छ।
आफ्नो करिअर अवधिभर आलोचनालाई लिएर कहिल्यै 'रि-एक्टिभ' देखिनुभएन। आलोचना सुन्दा रिस उठ्दैन?
मान्छेको जीवनमा प्रशंसा र आलोचना दुवै हुन्छ भन्ने मैले राम्रोसँग बुझेको छु। अहिले अवस्था यस्तो आइसकेछ कि मभन्दा पनि बढ्दा प्रख्यात मेरो छवि भइसकेछ। त्यसैले मलाई लिएर बन्ने विम्ब, ट्रोल, जोक्स सबै कुरालाई म सकारात्मक रुपमै लिन्छु। इन्टरटेन नै गर्छु।
आफूमाथि बनेका ट्रोलहरु देख्दा कस्तो लाग्छ?
म त हाँस्छु। एकपल्ट एउटा ट्रोल देखेको थिएँ, जहाँ मलाई ढलेको रुखसँग कम्पेयर गरिएको थियो। हेरेर निकै हाँसेको थिएँ।
भर्खर त २५ वर्ष लागेँ (हाँस्दै)। अलिकति बुढेसकाल लागोस, दुई-चार वटा अनुभव गरौं। दुई-चार वटा केही गरौं। त्यसपछि आत्मकथा लेखौंला नि।
फिल्मवृत्तमा अचेल 'सुपरस्टार'को ट्याग खुब चल्तीमा छ। तपाईंलाई सोध्न मन लाग्यो– खासमा यो सुपरस्टार हुनु भनेको के हो?
कुनै पनि व्यक्तिले कुनै पनि काम गर्छ भने त्यो कामको परिणामबाट तपाईं सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न? अनि, जसको लागि त्यो काम गर्नुभयो, उहाँहरु सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न? कलाकारिता गर्दा आफ्नो करिअरदेखि सन्तुष्ट भएँ कि भइनँ भन्ने महत्वपूर्ण कुरा हो। सुपरस्टार या महानायक त्यो त अरुले माया गरेर दिने नाम हो। त्यो त सुनमा सुगन्ध हो।
सुनिन्छ, पहिलेपहिले तपाईंलाई भेट्न निकै मुस्किल पर्थ्यो। अचेल सार्वजनिक स्थानमा सहजै भेटिन्छ…
म अहिले कस्तो निष्कर्षमा पुगेको छु भने कि त अचानोमा टाउको नराख्नु, राखेपछि खुकुरीसँग किन डराउने? तपाईं पब्लिक फिगर पनि हुने अनि बाहिर हिँड्दा मान्छेले घेर्ला भनेर पनि डराउने? म प्राइभेटमा अति प्राइभेट अनि बाहिर हिँडेपछि एकदमै घुलमिल हुन रुचाउँछु। फिल्ममा चाहिँ भरियाको भूमिका निर्वाह गर्ने अनि बाटोमा भरिया देख्दा भाग्ने? यो त कसरी राम्रो भयो र! प्रत्युत्पादक भइगयो नि। जसरी म प्रधानमन्त्रीसँग गफ गर्छु, त्यसरी ऊसँग पनि गफ गर्नुपयो नि। फिल्ममा मात्रै आदर्शवादी देखिएर भएन जस्तो लाग्छ। बाहिर पनि त्यस्तै हुन सक्नुपर्छ। पब्लिकले हामीलाई त्यसै आदर्श मानेका हुँदैनन्। त्यसैले हामी कलाकारले पनि उनीहरुको प्रेम र आदरको सम्मान गर्न सक्नुपर्छ।
तपाईंका जबर्जस्त प्रशंसकहरुलाई पक्कै थाहा छ, तपाईंको ब्यागमा पुस्तक छुट्दैन। कस्तो पुस्तक बढी पढ्न रुचाउनुहुन्छ?
म पछिल्लो समय जीवन जिउन सिकाउने पुस्तक बढी पढिरहेको छु। जीवन दर्शनसँग जोडिएका पुस्तकले सुखी र गतिशील बनाउन प्रेरणा दिन्छन्। मैले पढ्ने पुस्तक जीवनदर्शन र अपलिफ्टिङवाला नै हुन्छन्।
२५ वर्षअघि काठमाडौंलाई भवनभन्दा बढी मन्दिरहरुको सहर भनिन्थ्यो। अहिले त मन्दिर कहाँ पुग्यो, कहाँ। काठमाडौं हामीले भताभुंग बनायौं।
आत्मकथा लेख्ने सोच छैन?
भर्खर त २५ वर्ष लागेँ (हाँस्दै)। अलिकति बुढेसकाल लागोस, दुई-चार वटा अनुभव गरौं। दुई-चार वटा केही गरौं। त्यसपछि लेखौंला नि।
तपाईंको एउटा गोप्य कुरा, जो दर्शकलाई थाहा छैन…
दर्शकलाई मेरा प्रायः सबै कुरा थाहा नै होलान्। थाहा नभएको मेरो भ्रमण रुचि हुन सक्छ। म असाध्यै भ्रमण गर्न रुचाउँछु। बेलाबेलामा म नितान्त एक्लै देशविदेश भ्रमण गरिरहेको हुन्छु।
अहिलेसम्म घुमेका मध्ये लोभ्याएको ठाउँ?
धेरै देश घुमेँ तर प्राकृतिक हिसाबले मलाई नेपाल नै मन पर्छ। सुरुसुरुमा विदेशको सहर पुग्दा रमाउँथे। अहिले त्यो फेजबाट म बाहिरिइसकेँ। अहिले नेपालको डाँडाकाँडाबाट रमाउँछु। मलाई प्राकृतिक चिज बढी मन पर्छ। प्रकृतिप्रेमी छु। खानपिन पनि नेचुरल मन पराउँछु। म ससानो बहानामा पनि पोखरा गइरहन्छु। पोखरा असाध्यै मन पर्छ। अहिलेसम्म पोखरा बिग्रेको छैन, जति हाम्रो काठमाडौं बिग्रियो। पहिलेपहिले म स्कुल पढ्दा काठमाडौंमा हरियाली थियो। २५ वर्षअघि काठमाडौंलाई भवनभन्दा बढी मन्दिरहरुको सहर भनिन्थ्यो। अहिले त मन्दिर कहाँ पुग्यो, कहाँ। काठमाडौं हामीले भताभुंग बनायौं।
खानपिनप्रति कत्तिको सौखिन हुनुहुन्छ?
म असाध्यै सादा खाना खान्छु। त्यसैले मान्छेको भोज, पार्टीमा जाँदा पनि सकेसम्म नखाई फर्किन्छु। तेल, मसला ,खुर्सानी बढी हालेको खाना मन पर्दैन। हरियोपरियो, सागपात, माछा मासु, गेडागुडी मन पर्छ। ढिँडो पनि मन पर्छ।
(तस्बिर : निमेष जंग राई/नेपाल लाइभ अर्काइभ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।