जाति हुन्थ्यो
आफूले लेखेको भए गीत
अभाव नै वेश चाहिन्छ देश
सन्तानलाई यतै पढाएको भए कविता-
‘नगरी काम पुग्दैन खान’
फर्किंदा के कोसेली ल्याउँछौ परदेशी-
ड्राई गरिएको माछामासु?
डेरीको दुधदही के ल्याउँछौ-
गोठ त तिम्रो रित्तो छ?
क्यानमा फलफूलको रस ल्याउँछौ की
बोरामा बजारको बासनादार चामल?
बारी त तिम्रो बाँझो छ
ए परदेशी!
पढेर फर्किन्छौ तिमी
निद्रा बेचेर पैसा कमाउने तरिका
पेट भर्ने अर्थशास्त्र त यतै छ
ठूला मेसिन चलाउने तरिका सिक्छौ की
मन चलाउने मनोविज्ञान यतै छ
जाती हुन्थ्यो
यतै तिम्रो निधारमा खेलेर हुर्किएको भए घाम
जाती हुन्थ्यो
यहींको ढुंगा माटोलाई ठुंगेर सकिएको भए तिम्रो बैंश
परदेशी
तिम्रा साना छोराछोरी
गुगलबाट हेरिरहेछन् तिमी गएको देश
उनीहरु हेरिरहेछन् तिमी गएकै देशको सिनेमा
मनाइरहेछन तिमी गएकै देशका चाडपर्व
लगाइरहेछन् सोही देशका लुगाफाटो
गाइरहेछन् लोकधुन नभएका गीत
यो कस्तो नियति
तिम्रा साना छोराछोरी पनि परदेशीन खोज्दैछन्
उनीहरु नयाँमै च्यातिएका छन्
नयाँ लुगाको टाँकघर जसरी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।