काठमाडौं- पकिस्तानको अर्थ व्यवस्था हरेक दिन नयाँ संकटमा फस्दै गएको छ। अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपी बुधबार १ सय ६४ रुपीसम्म पुगेको थियो। यो बैकिङ च्यानलभित्र भएको मूल्य थियो। त्यस्तै खुल्ला बजारमा पनि १ सय ६० रुपी पार गरेको छ।
बुधबारलाई आधार मान्दा पाकिस्तानी मुद्रा एक डलरको तुलनामा ७.२ रुपीले कमजोर भएको थियो। पाकिस्तानको अर्थ व्यवस्थामा पहिलेदेखि नै मन्दी छाएको छ। यो संकट थप गहिरिँदै गएको छ। पाकिस्तानी रुपी यसपटक इतिहासमै पहिलो चोटि न्यून अवस्थामा पुगेको हो।
पाकिस्तानमा यो साता सुनको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रति १२ ग्राम सुनको कारोबार ८० हजार ५ सय रुपीमा भएको छ। पाकिस्तानको विदेशी मुद्रा भण्डारसमेत ७.६ अर्ब डलरको निक्कै तल्लो स्तरमा झरेको छ।
पछिल्लो साता स्टेट बैंक अफ पाकिस्तान (एसबिपी)का गर्भनर डा रजा बकिरले भनेका थिए, ‘रुपीमा भइरहेको यो गिरावट केही समयका लागि मात्रै देखिन्छ।’
पाकिस्तानमा आर्थिक मन्दिको सुरुवात जुन ३ बाट सुरु भएको हो र यो अनुपात अहिलेसम्म ९ प्रतिशत अर्थात् १३.५८ रुपीसम्म कमजोर भएको छ।

पाकिस्तानमा चालू आर्थिक वर्ष ३० जुनमा समाप्त हुँदैछ। गभर्नर बकिरले अन्तर्राष्ट्रिय भुक्तानी चालू आर्थिक वर्षभित्रै गरिसक्नुपर्ने भएकोले यो अवस्था आएको बताए। 'यो गिरावट यसकारण देखिइरहेको छ की ३० जुनसम्म कम्पनीहरुले आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी गर्नुपर्ने हुन्छ। जसका लागि उनीहरुलाई डलरको आवश्यकता परेको छ। तर, आवश्यक मात्रामा डलर नहुँदा यो समस्या आएको हो,' उनले भने।
इमरान खान प्रधानमन्त्री भएपछि पछिल्लो १० महिनामा पाकिस्तानी रुपीमा २९ प्रतिशतले गिरावट आएको छ। अघिल्लो वर्ष १८ अगस्टमा पाकिस्तानी रुपी डलरको तुलनामा १२३.३५ थियो। मे २६, २०१९ मा आइपुग्दा यो आँकडा १६० को बिन्दुमा पुगेको हो।
पकिस्तानको इतिहासमा यति छोटो अवधिमा यति ठूलो गिरावट पहिलो पटक भएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग ६ अर्ब डलर ऋण सम्झौतापछि पाकिस्तानी रुपीमा झनै गिरावट हुनसक्ने आँकलन गरिएको छ।
‘रुपी यो वर्षको अन्तिसम्म १ सय ७५ देखि १ सय ८० सम्म पुग्नसक्ने देखिन्छ,’ पाक–कुवेत इन्भेस्टमेन्टका एबिपी अनुिन्धानकर्ता अदनान शेखले भने, ‘रुपीको थप अवमूल्यन हुने तय छ, यसलाई रोक्न सकिँदैन, आज वा भोलि यो अवमूल्यन निश्चित छ। भुक्तानीका लागि डलरको माग बढिरहेको छ। तर, तत्काल पाकिस्तानसँग प्रयाप्त डलर छैन। यस्तो अवस्थामा डलर खरिद गर्नुपर्छ। यसरी डलर खरिद गरेमा अवश्य नै रुपीमा गिरावट आउनेछ।'

इमरान खान सरकारमा आउनुभन्दा अघि गिरावटलाई लिएर निक्कै आक्रामक सुनिन्थे। तर, अहिले स्वयम् उनी लाचार देखिएका छन्।
इमरानको हातबाट फुत्किँदै हालत
आर्थिक संकटलाई मध्यनजर गर्दै १० जुनमा राष्ट्रको नाममा सम्बोधन गर्दै सवै पाकिस्तानी नागरिकलाई ३० जुनसम्म आफ्नो सम्पत्ति घोषणा गर्न आह्वान गरेका थिए। उनले वैध र अवैध सम्पत्तिको फरक छुट्टाउन यस्तो घोषणा गरेका हुन्।
उनले ३० जुनसम्म बेनामी सम्पत्ति, बेनामी बैंक खाता तथा विदेशमा राखिएका सबै सम्पत्ति सार्वजनिक गर्न आह्वान गरेका थिए। सोपश्चात् सकैलाई यो सुविधा नमिल्ने पनि उनले स्पष्ट पारेका थिए। अवैध सम्पत्तिमार्फत आर्थिक मन्दी रोक्ने इमरानको एकमात्र लक्ष्य थियो।
‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट बढेर ३० हजार अर्ब पुगेको छ। हामी हरेक वर्ष ४ हजार अर्ब रुपी राजश्व असुल गर्दछौं, यसको आधा रकम ऋणको किस्ता तिर्नमै सकिने गरेको छ। बाँकी बचेको रकमले देशको खर्च धान्न मुस्किल छ,' खानले भने, 'पाकिस्तान दुनियाँभरमा सबैभन्दा कम राजश्व असुल्ने देशभित्र पर्छ। तर, तिमध्येबाट पनि पाकिस्तानमा खर्चको बोझ धेरै छ। यदि हामी तयार भयौं भने हरेक वर्ष हामी १० हजार अर्ब जम्मा गर्न सक्छौं।'

आइएमएफको सर्त
पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)बाट ६ अर्ब डलर ऋण लिँदै छ। यस सम्झौताका आधारमा इमरान सरकारले आफ्नो अर्थनीतिलाई आइएमएफको सर्तअनुसार अगाडि बढाउनेछ।पाकिस्तानमाथि अबको १२ महिनामा ७ सय अर्ब रुपीको फन्ड जुटाउनुपर्ने बाध्यता छ।
आइएमएफले पाकिस्तानलाई खर्चमा कटौती र करमा बढोत्तरी गर्न सुझाएको छ। पाकिस्तानको आगामी बजेट यस अर्थमा पनि ऐतिहासिक हुने अनुमान गरिएको छ। जसले पाकिस्तानको आर्थिक भविष्य समेत निर्धारण गर्नेछ। आर्थिक संकटसँगै पाकिस्तानमा धनी र गरिबका बीचमा गहिरो खाडलसमेत देखिएको छ।
पाकिस्तानका सहरहरु कराँची, लाहौर र इस्लामाबादका बजारहरुको अवस्थालाई हेरेर पनि यहाँको आर्थिक विषमतालाई अन्दाज गर्न सकिन्छ। केही वर्षयता यी सहरमा अटोमोबाइलका ठूला-ठूला शो-रुमहरु खुलेका छन्। जबकि यीनै सहरका छेउमा रहेका अधिकांश जनताहरु भने दैनिक गुजाराका लागि संघर्ष गरिरहेका देख्न सकिन्छ।
पाकिस्तानमा मुस्लिम लिगको पछिल्लो सरकारले आफ्नो आर्थिक सर्भेमा कसरी आयात र निर्यातको बीचमा अन्तर लगातार बढिरहेको छ भन्ने उल्लेख गरेको थियो।

इमारान खानले चुनावी अभियानका क्रममा आफू प्रधानमन्त्री बनेपछि भनेका थिए, 'बरु आत्महत्या गर्न रुचाउँछु, ऋण कदापि लिने छैन।' इमरान प्रधानमन्त्री पनि बने तर उनले ऋणबाहेक अन्य कुनै विकल्प देखेनन्।
घट्दो विदेशी मुद्रा भण्डार
पकिस्तानमा विदशी मुद्रा भण्डार लगातार कम हुँदै गइरहेको छ। हालै भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ७ अर्ब डलर खर्च भएको थियो। जबकि पाकिस्तानमा यही बराबरको विदेशी मुद्रामात्रै बचेको छ। निर्यात निक्कै कम भएको छ भने महँगी भने लगातार बढिरहेको छ।
राजश्व घाटाले आकाश छोइरहेको छ भने भुक्तानी सन्तुलन पनि ट्रयाकभन्दा बाहिर गइसकेको छ।
ऋणको बदलामा आत्महत्याको कुरा गर्ने प्रधानमन्त्री खानको अन्ततः आइएमएफकै शरणमा जान कर लागेको छ। आइएमएफसँग पाकिस्तानले लिन लागेको यसपटकको ऋण २२औं हो। पाकिस्तानको कूल खर्चको ३०.७ प्रतिशत हिस्सा ऋणको किस्ता तिर्दैमा सकिन्छ।

पाकिस्तानको खर्च आयातमा मात्र निरन्तर बढ्दै गएको छ। यसको तुलनामा निर्यातबाट भने केही पनि उपलब्धि हासिल भएको छैन। पाकिस्तानले आफ्नो आर्थिक अवस्था नसुधार्ने हो भने आर्थिक अवस्था टाट पल्टिने खतरासमेत बढेर जानेछ। २०१५ मा पाकिस्तानको चालू खाता घाटा २.७ अर्ब डलर थियो। यो आँकडा २०१८ सम्म पुग्दा १८.२ अर्ब डलर पुगेको छ।
चालू खाता घाटाका कारण पाकिस्तानको व्यापार घाटा बढिरहेको छ। त्यसमाथि चीन-पाकिस्तान इकोनोमिक करिडोर (सिपिइसी)का कारण पनि आयात लगातार बढिरहेको छ। सिपिइसी चीनको महत्वाकांक्षी परियोजना 'वन बेल्ट वन रोड'को एक हिस्सा हो। जसका मार्फत पाकिस्तानमा चीनले ६० अर्ब डलर लगानी गरेको छ।
(यो सामाग्री बिबिसीबाट नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।