काठमाडौं- उखु किसानलाई चिनी उद्योगीले तिर्न बाँकी रकम अझै नतिरेको देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको रोहबरमा उखु किसान र उद्योगीबीच गत पुस १८ गते माघको पहिलो हप्ताभित्र सबै रकम तिरिसक्नेलगायत ५ बुँदे सम्झौता भएको थियो।
तर किसानको रकम भुक्तानी गर्न चिनी उद्योगीले मागेको समयसीमा सकिन २ दिन मात्र बाँकी रहँदा केही चिनी उद्योगीले किसानको पैसा तिरे पनि अधिकांश चिनी उद्योगले तिर्न बाँकी छ। केही उद्योगहरू सम्पर्कमा नआएको र केहीले निकै कम रकम मात्र भुक्तानी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
सर्लाहीको महालक्ष्मी सुगर मिलले किसानलाई २१ करोड ४० लाख रुपैयाँ तिर्न बाँकी रहेकोमा ११ करोड ६० लाख रुपैयाँ तिरेको छ भने बाँकी रकम तिरेको छैन। बागमती सुगर मिल, लुम्बिनी सुगर मिल र बाबा बैजनाथ सुगर मिल मन्त्रालयको सम्पर्कमा आएका छैनन्। बागमती सुगर मिलले किसानलाई ८ करोड ४१ लाख ४१ हजार रुपैयाँ तिर्न बाँकी रहेकोमा उक्त उद्योगका संचालक हालसम्म पनि मन्त्रालयको सम्पर्कमा आएका छैनन्।
१० करोड ७४ लाख रुपैयाँ तिर्न बाँकी रहेको लुम्बिनी सुगर मिलका संचालकको मृत्यु भएको र उनको मृत्युपछि अंशियारहरूको खोजी गर्न उद्योग मन्त्रालयले गत पुस २३ गते गृह मन्त्रालयलाई पत्रसमेत पठाएको थियो। तर गृहले त्यसको जवाफ उद्योग मन्त्रालयलाई पठाएको छैन।
अन्नपूर्ण सुगर मिलले सबैभन्दा बढी ४० करोड रुपैयाँ (कृषि मन्त्रालयका अनुसार ३० करोड) तिर्न बाँकी रहेकोमा हालसम्म उसले ३ करोड ९० लाख रुपैयाँ मात्रै तिरेको छ। त्यस्तै, श्रीराम सुगर मिलले किस्तामा तिर्दै जाने भन्दै किसानसँग सहमति गरेको र मन्त्रालयसँग पनि प्रतिबद्धता जनाएको छ। ७ करोड २९ लाख तिर्न बाँकी रहेको एभरेस्ट सुगर मिलले सबै भुक्तानी गरिसकेको मन्त्रालयले जनाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले चिनी उद्योगीहरूलाई रकम तिरिसकेको, तिरिरहेको तथा तिर्ने भनी प्रतिबद्धता जनाएको र सम्पर्कमा नै नआएको गरी तीनवटा भागमा बाँढेको र त्यही अनुसार उनीहरुको गतिविधि पनि अध्ययन गरिरहेको बताए।
‘केही उद्योगले पैसा तिरिसके, केहिले तिर्छौं भनेर आफै किसानसँग सहमति गरेको छन् वा आधा जति तिरिसकेका छन्। केही उद्योगीहरूले थोरै रकम मात्र तिरेका छन् भने केही सम्पर्कमा नै आएका छैनन्। अझ दुई दिन बाँकी छ त्यो अवधिसम्म रकम तिरेनन् भने हामीले थप प्रकृया चाल्छौं,’ उनले भने।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा किसान र उद्योगीबीच उक्त सम्झौता भएको थियो। सम्झौताअनुसार सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानका सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।