काठमाडौं- युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक वर्ष २०६६/०६७ देखि हालसम्म ७२ हजार ६४३ युवाहरुलाई स्वरोजगार बनाएको छ।
यो संख्या कोषले प्रत्यक्ष रुपमा स्वरोजगार बनाएका युवाहरुको मात्रै रहेकाले अप्रत्यक्ष रुपमा निकै ठूलो संख्यामा युवाहरुलाई स्वरोजगार बनाएको कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले जानकारी दिए।
गत पौस मसान्तसम्म कोषले ९ अर्ब ४९ करोड लगानी गरी उल्लेख्य रुपमा युवाहरुमाझ स्वरोजगार सिर्जना गरेको उनले बताए।
‘कोषले थुप्रै नीतिगत परिवर्तन तथा सुधार गरेको छ, नीतिगत सुधारकै कारण ३ अर्ब ८२ करोड लगानीमा स्थापित कोष अहिले ९ अर्बभन्दा बढी लगानी गरिरहेको छ।’ कोषका उपाध्यक्ष डा प्रेमप्रसाद दंगालले भने।
आगामी ५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गरी आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित अगाडि बढेको वर्तनमान सरकारकै कार्यकाल अवधिमा मात्रै २८ हजार स्वरोजगार सिर्जना गरिएको उपाध्यक्ष दंगालले बताए।
कोषले लगानी, असुली वित्तीय व्यवस्थापन तथा अनुशासन र विनियोजित बजेट खर्च गर्ने कार्यलाई थप व्यवस्थित गरिएको र नियमित रुपमा लेखा परीक्षण गर्ने गरिएको उनले जानकारी दिए।
२०७२ सालमा कोषमा उपाध्यक्षको रुपमा पदबहाली गरेका दंगालले आफ्नो कार्यकालमा आफूलगायत अन्य कर्मचारीले अनियमितता नगरेको बताए।
२९ करोड भाका नाघेको कर्जा असूली
२०७२ सालदेखि हालसम्म कोषले सहकारी, बैंक तथा वित्तीय संस्थाहरुबाट भाका नाघेको २९ करोड ९० लाख १६ हजार ८ सय ५४ कर्जा असुली तथा हिसाब मिलान गरिएको कोषले जनाएको छ।
कोषसँग सम्झौता गरी भुक्तानी तालिकाअनुसार समयमा किस्ता तथा ब्याज नबुझाएका ७ सय ३५ सहकारीहरुलाई तारताकेता गरी रकम संकलन गरिएको छ।
अचल सम्पत्ति रोक्का, कर्जा रकमको सुरक्षण कोषको कर्जा नतिरी भाका नाघेका तथा नियमित किस्ता नतिरेका १ सय ५० वटा सहकारीका २ हजार ७२ जना पदाधिकारी तथा सदस्यहरुको अचल सम्पत्ति रोक्काका लागि मापलोत कार्यालयमा पत्राचार गरेको कोषले जनाएको छ।
जसमध्ये ९७ वटा सहकारीका ५ सय ९ पदाधिकारी तथा सदस्यको जग्गा रोक्का गरिएको कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले बताए।
४ करोड ऋण उठ्न बाँकी
विस २०७२ सालभन्दा अगाडि कोषको उठ्न बाँकी रकम ११ करोड ५० लाख ६० हजार ५ सय ३ रहेकोमा हाल ७ करोड ६४ लाख ८८ हजार ७ सय १९ असुलउपर भइसकेको कोषले जनाएको छ।
सो रकम महालेखा परीक्षणबाट सम्परीक्षण भइसकेको छ। उठाउन बाँकी रहेको लगभग ४ करोड रकमका लागि पनि प्रक्रिया अगाडि बढिसकेको कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।