काठमाडौं- २०१९ मा धेरै बिक्री हुने कार कुन होला भन्ने चासो जाग्नु स्वभाविक हो। यो चासो सवारी उत्पादक, प्रयोगकर्ता तथा सावरीबारे जान्न चाहने सबैलाई हुनु स्वभाविक हो। त्यसैले यहाँ मोटोवान डटकमले तयार परेको २०१९ को बिक्री भएका कार तथा पिकअपको तथ्यांक सहतिको रिपोर्ट उल्लेख गरिएको छ।
१०. टोयोटा कोरोला
जापानी कार उत्पादक कम्पनी टायोटाले उत्पादन गरेको यो सेडान कार कुनै बेलाको सर्वाधिक बिक्री हुने कार थियो। यो कार २०१९ मा ३ लाख ४ हजार ८ सय ५० वटा बिक्री भएको छ। विगतमा यो कार नेपाली बजारमा समेत बिक्री हुँदै आएको थियो। तर पछिल्लो समय उपभोक्ता माझ एसयुभी गाडी लोकप्रिय हुँदै जानु र कोरोला कार महगो हुनुलगायत कारणले नयाँ कोरोला कार बिक्री हुन छाडेको छ। २०१८ को तुलनामा गत वर्ष कोरोलाको बिक्री ०.३ प्रतिशतले बढेको हो।
९. होन्डा सिभिक
होन्डाको सिभिक मोडल २०१९ मा ३ लाख २५ हजार ६ सय ५० वटा बिक्री भएको थियो। जापानी कार उत्पादक कम्पनी होन्डाको सिभिक सेडान कार हो। होन्डा सिभिक २०१८ को तुलनामा २०१९ मा बिक्री ०.०३ प्रतिशत कमी आएको हो। होन्डा सिभिक नेपाली बजारमा समेत उपलब्ध रहेको छ।
८. टोयोटा क्याम्री
टोयोटाको क्याम्री ३ लाख ३६ हजार ९ सय ७८ वटा बिक्री भएको छ। २०१९ मा क्याम्रीको बिक्री १.८ प्रतिशतले गिरावट आएको हो। सेडान सेगमेन्टको यो कार टोयोटाको लोकप्रिय कारमध्येको एक हो।
७. सेब्रोले इक्विनोक्स
अमेरिकी सवारी उत्पादक कम्पनी जिएमको एउटा ब्रान्ड सेब्रोलेको इक्विनोक्स गत वर्ष ३ लाख ४६ हजार ४८ वटा बिक्री भएको तथ्यांक छ। यो कारको बिक्री २०१९ मा ४ प्रतिशतले बढेको हो।
६. निसान रग
निसानको एसयुभी रग २०१९ मा ३ लाख ५० हजार ४ सय ४७ वटा बिक्री भएको छ। निसान रगको बिक्री २०१९ मा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले गिरावट आएको हो। निसानका गाडी नेपाली बजारमा उपलब्ध भएकाले यो गाडी भने आएको छैन।
५. होन्डा सिआर-भी
जापानी कार उत्पादक कम्पनी होन्डाको सिआर-भी २०१९ मा ३ लाख ८४ हजार १ सय ६८ वटा बिक्री भएको छ। एसयुभी सेगमेन्टको यो गाडी नेपाली बजारमा समेत उपलब्ध रहेको छ। २०१८ को तुलनामा गत वर्ष यो कारको बिक्री १.३ प्रतिशतले बढेको हो।
४. टोयोटा र्याभफोर
सर्वाधिक बिक्री हुने कारको सूचीमा यो टोयोटाको चौथौं कार हो। टोयोटा र्याभफोर गत वर्ष ४ लाख ४८ हजार ७१ वटा बिक्री भएको थियो। यो २०१८ को तुलनामा ४.९ प्रतिशतले धेरै हो। टोयोटाको र्याभफोर नेपाली बजारमा समेत उपलब्ध रहेको छ। यो कार नेपालमा टोयोटाको धेरै बिक्री हुनेमध्येमा पर्दछ।
३. सेब्रोले सिल्भराडो
सेब्रोलेको सार्वाधिक बिक्री हुने १० कारको सूचीमा पर्न सफल तेस्रो कार हो। गत वर्ष पिकअप सेगमेन्टको यो गाडी ५ लाख ७५ ६ सय वटा बिक्री भएको छ। तेस्रो सर्वाधिक बिक्री हुने कार बनेको यो गाडीको बिक्री २०१८ को तुलनामा करिब २ प्रतिशतले घटेको हो।
२. राम पिकअप
रामको पिकअप निक्कै लोकप्रिय बनेको छ। यो पिकअपको बिक्री २०१८ को तुलनामा २०१९ मा १८ प्रतिशतले बढेको हो। गत वर्ष यो पिकअप ६ लाख ३३ हजार ६ सय ९४ वटा बिक्री भएको थियो।
१. फोर्ड एफ-सिरिज
फोर्डको यो पिकअप २०१९ मा ८ लाख ९६ हजार ५ सय २६ वटा बिक्री भएको छ। यो पिकअपको बिक्री २०१८ को तुलनामा १.४ प्रतिशतले घटेको हो। फोर्डका कार नेपाली बजारमा उपलब्ध रहेपछि यो पिकअप भने उपलब्ध छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।