काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउन नपर्ने बताएका छन्।
सरकारले लगानी बढाउने राष्ट्रिय अभियानअन्तर्गत वैदेशिक लगानीलाई आकर्षित गरेको तर स्वदेशी लगानीकर्तामा प्रतिस्पर्धा गर्न सक्दैनौं कि भन्ने चिन्ता रहेको बताउँदै मन्त्री भट्टले डर हटाउन आग्रह गरेका हुन्।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रको विकास चुनौती र भावी कार्यदिशासम्बन्धी अन्तक्रियामा मन्त्री भट्टले भने, ‘अहिलेको उद्देश्य कसरी लगानी बढाउन सकिन्छ भन्ने हो। सबै लगानीकर्तालाई एउटै दृष्टिबाट हेरेकाले विदेशी लगानीकर्ता आउँदा स्वदेशी लगानीकर्ता आतंकित नहुन आग्रह गर्छु।'
आर्थिक समृद्धिका लागि औद्योगीकरण आवश्यक रहेको र त्यसका लागि उद्योगहरुको मुनाफा सुनिश्चित हुनुपर्छ भन्नेमा सरकार जानकार रहेको उल्लेख गरे।
कार्यक्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पछिल्लो समय नीतिगत व्यवस्थामा सुधार आएको तर यसको कार्यान्वयन पक्ष फितलो हुँदा उद्योगी व्यवसायीहरुले दुःख पाउने गरेको बताइन्। कानून निर्माण हुनु अघि छलफल हुँदा हुने कुरा र विधेयकमा आउने विषय नमिल्ने गरेको समेत उनले उल्लेख गरिन्।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले लगानीको वातावरण निर्माण गर्न प्रयत्न गरिरहेपनि उद्योग दर्ता, इजाजत लिने प्रकृया झन्झटिलो र समय लाग्ने तथा बैंकमा देखिने समस्या र राजश्व लगायतका विषय हुने जटिलताका कारणले पनि लगानी प्रवर्द्धन हुन नसकेको बताएका थिए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।