काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले अर्थमन्त्री डा युवराज खतिवडासँग छलफल गरेका छन्।
छलफलका क्रममा अर्थमन्त्री खतिवडाले अटोमोबाइल क्षेत्रमा देखिएको मन्दी चाँडै हट्ने बताएका छन्। नाडाको टोलीले अटोमोबाइल क्षेत्रमा आएको मन्दी हटाउन नीतिगत सुधारको लागि गरेको आग्रहमा अर्थमन्त्री खतिवडाले उक्त आश्वासन दिएका हुन्।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पछिल्लो समय अटोमोबाइल क्षेत्रमा आएको मन्दीले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पुर्याएको भन्दै यसमा केही सहजताको बाटो खोज्न आग्रह गरेको थियो। नाडाले विशेषतः फेयर ट्रेड, स्पेयर पाटर्समा अण्डर इन्भोइसिङजस्ता विषय समाधन गर्न र सहज व्यापारको वातावरण निर्माण गर्न अर्थमन्त्रीसँग लिखितरुपमै माग गरेको थियो।
अटोमोबाइल क्षेत्रले भोग्दै आएका समस्या अर्थमन्त्री समक्ष राखेको थियो। त्यसमा अर्थमन्त्री सकारात्मक देखिएको नाडाले जनाएको छ। भेटमा अर्थमन्त्री खतिवडाले स्पेयर पार्ट्स र लुब्रिकेन्ट आयात गर्ने कम्पनीले पनि गाडी आयातजस्तै आधिकारीक डिलरसिपमार्फत मात्रै आयात गर्न दिने विषयमा छलफल भइरहेको जानकारी गराएका थिए।
नाडाले इलेक्ट्रिक सवारीसाधनमा दिने कर्जा, अटो उद्योग स्थापना गर्न दिइने सेवा सुविधा, सडक सञ्जाल विस्तार, स्पेयर पटर्समा हुने चोरी पैठारीलगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो। नाडाले पछिल्लो समय सरोकारवाला निकायहरुसँग व्यापार सहजीकरण र फेयर ट्रेडको विषयमा छलफल गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।