काठमाडौं– अकुत सम्पति आर्जनको आशंकामा म्यानपावर कम्पनी तथा सञ्चालकहरुमाथि सम्पति शुद्धिकरण विभागले अनुसन्धान अगाडि बढाएको छ।
शंकास्पद ४० भन्दा बढी म्यानपावर कम्पनीमाथि अनुसन्धान सुरु गरिएको स्रोतले जानकारी दिएको छ।
सम्पति शुद्धिकरण विभागबाट अनुसन्धानका लागि पत्राचार आइसकेकाले सोहीअनुसार काम सुरु भइसकेको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले बताए।
विभागबाट पत्राचार प्राप्त भएपछि केही म्यानपावर कम्पनी तथा सञ्चालकहरुमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिइएको छ।
ब्युरोले म्यानपावर कम्पनीको लागत, म्यानपावर तथा सञ्चालकको बैंक खाता, वैदेशिक रोजगारीमा कामदार पठाएको विवरण लगायतका सूचना खोजी गर्न सुरु गरिसकेको छ।
ब्युरोका एसपी बेलबहादुर पाण्डेले अनुसन्धानका क्रममा रहेकाले थप केही कुरा तत्काल खुलाउन नसकिने बताए।
‘हामी अनुसन्धानका क्रममा छौं, अनुसन्धानको काम सकिएपछि थप जानकारी गराउँछौं’ एसपी पाण्डेले नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।