काठमाडौं- सरकराले मूल्य अभिवृद्धि करको कम्प्लाएन्स बढाउन चालु आर्थिक वर्षबाट उपभोक्तालाई सहजता दिने गरी एउटा प्याकेज ल्यायो। यो व्यवस्थाअनुसार विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्ने उपभोक्ताले मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता पाउँछन्।
अर्थात् कुनै ग्राहकले १००० रुपैयाँको सामान खरिद गर्दा १३० रुपैयाँ मूल्य अभिवृद्धि कर तिर्नुपर्छ। उसले यो रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर रकम १३० रुपैयाँ १० प्रतिशत अर्थात १३ रुपैयाँ आफ्नो बैंक खातामा फिर्ता पाउँछ।
प्रणालीगत जटिलताका कारण साउनबाट कार्यान्वयनमा आउन नसकेको यो व्यवस्था पुसबाट भने कार्यान्वयनमा आएको छ।
आन्तरिक राजस्व विभागले यो व्यवस्था कार्यान्वयन गर्न विद्युतीय बिजकसम्बन्धी कार्यविधि संशोधन गरेर केही व्यवस्था थपेको छ। संशोधित कार्यविधिको अनुसूची ८ मा उपभोक्तालाई कसरी मूल्य अभिवृद्धि कर फिर्ता दिने विषय उल्लेख गरिएको छ।
नयाँ व्यवस्थाअनुसार करदाताको स्थायी लेखा नम्बर, बिजक नम्बर, भुक्तानी दिएको कूल रकम, मूल्य अभिवृद्धि कर रकम, त्यसको १० प्रतिशत हुन आउने रकम, ग्राहक पहिचना नम्बर र कारोबार संकेत नम्बर उल्लेख गर्नुपर्छ।
'दर्तावाल करदाताले यी जानकारी भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकलाई नेपाल राष्ट्र बैंकले निर्धारण गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्व:चालितरुपमा पठाउनुपर्नेछ,' कार्यविधिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।