धनगढी- अहिलेका अधिकांश पढेलेखेका युवा कृषि भन्ने वित्तिकै नाक खुम्च्याउँछन्। प्रायःजसो युवाहरु विदेशमा श्रम गर्न तयार छन्, तर यहाँ पशुपालन त गर्दै गर्दैन्। केही युवा यस्ता पनि छन्, जसले अहिले पशुपालनलाई प्रमुख पेशा बनाएका छन्।
कैलालीको टीकापुर नगरपालिकाका ३२ वर्षीय ललित थापा (शिव)ले नौ वर्षदेखि व्यवसायिक रुपमा भैंसीपालन गरिरहेका छन्। उनले विराटनगरदेखि कञ्चनपुर र सीमावर्ती भारतको तिकुनियादेखि उत्तराखण्डसम्मका पशुपालन फार्महरुको अध्ययन गरेर व्यवसायिक रुपमा भैंसीपालन व्यवसाय रोजेको बताए। 'विदेश जानुभन्दा स्वदेशमै काम गर्नुपर्छ भनेर मैले भैंसीपालन सुरु गरे।' ललितले भने, 'अरुले आरामका साथ बसेर खायो भने सुखी जीवन हुन्छ भन्छन्, तर सबभन्दा सुखी भनेका किसान हुन्। किसान श्रम गर्छन्। मेहनत गर्छन्। हामीलाई मस्त निद्रा लाग्छ। भोक लाग्छ। जे खाए पनि भयो, सबै पच्छ। सबैभन्दा निरोगी हुन्छन्।'
उनका अनुसार व्यवसाय सुरु गर्दा समस्या नभोग्ने कोही पनि हुँदैनन्। पशुपालन गर्दा पशुमा देखिने खोरत, चरचरे, भ्यागुते लगायतका रोगले कृषकले समस्या झेल्नुपर्छ। यी समस्याबाट कृषक ललित पनि अछुतो रहेनन्।
'भैंसीपालन व्यवसाय सुरु गर्दा खोरेतका कारण चारवटा भैंसी मरे। तीनवटा तुहिए।' उनले भने, 'तर पछि भ्यागुते, चरचरे, खोरेत रोगको सुइ लगाएपछि अहिले समस्या भएको छैन।' उनले बेलाबेलामा यी रोगको सुइ लगायो भने कृषकले समस्या भोग्नु नपर्ने बताए।
कृषिलाई नै जीवनको मुख्य लक्ष्य बनाएका युवा किसान ललितले ‘पशुपालन र उत्पादन मेरो जीवन’ भन्ने नारासहित कृषिलाई प्रवर्द्धन गरिरहेको बताए। उनले भने' 'अहिले म सबैलाई दारु होइन दुध खान सुझाव दिने गरेको छु। वैदेशिक रोजगार होइन, स्वरोजगार गर्न आग्रह गरिरहन्छु।' उनले आफूले अहिले आत्मनिर्भरको अभियान पनि सञ्चालन गरिरहेको बताए।
ललितले भैसीबाट चारवटा आम्दानीका आधार बनाएका छन्। उनले पाडापाडी, दुध, गोवर र जैविक मल उत्पादन गरिरहेको बताए। उनी भन्छन्, 'यही आधार सबै किसानले प्रयोग गर्ने हो भने जिवनस्तर सुधार हुन्छ।
अहिले १९ वटा भैंसी आफूसँग रहेकाे बताए। मासिक एक हजार तीन सय लिटर दूध बिक्री गरिरहेका उनी अहिले दैनिक ३२ लिटर दूध बेच्छन्। 'केही भैंसीहरु ब्याउने बेला भएकाले अहिले दैनिक दूध उत्पादन घटेको छ। केही महिनामै पुनः पुरानै अवस्थामा आउछ।' उनले भने।
'मानिसहरु ५०/६० लाख रुपैयाँ खर्च गरेर डेरीमा लगानी गर्न ईच्छुक छ, तर दुई/चार वटा गाईभैंसी किनेर व्यवसायिक पालन गर्नेतर्फ आकर्षित छैन,' उनले भने, 'पशुपालन नगरि डेरी स्थापना गर्नुकाे औचित्य हुँदैन।'
उनले अहिले दूधभन्दा जैविक मलबाट बढी फाइदा भइरहेको बताए। ‘एउटै गाई वा भैंसीबाट दूधमात्र लाभ लिने या अरु पनि केही लाभ लिन सकिन्छ भनेर अनुसन्धान गरे। त्यसपछि दूधभन्दा महंगो गोवर रहेको थाहा पाए,’ उनले भने, 'दूध ५४ रुपैयाँ प्रतिलिटरमा बेचिरहेको छु भने जैविक मल ६० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्दै आएको छु।'
उनले अहिलेसम्म १२ क्विन्टल जैविक मल बिक्री गरिसकेको बताए। उनले जैविक मल बनाउन ७० केजी गड्याैला प्रयोग गरेका थिए। 'अब ७० बाट एक सय गड्याैला पुर्याउने सोच बनाएको छु,' उनले भने।
उनले किसानकाे जीवनस्तर सुधार गर्नका लागि दूध उत्पादन र नश्ल सुधार कार्यक्रम सञ्चालन गरेको बताए। भैंसीहरुको आहारका लागि डाले र बहुवर्षिय घात खेती पनि गरेकाे उनले जानकारी दिए।
च्याउ खेती विस्तार
पशुपालनबाट व्यवसायबाट सुरु गरेका युवा कृषक ललितले व्यवसायिक केरा खेतीलाई पनि निरन्तरता दिइरहेका छन्। उनले केराका परिकारले चिनिने टीकापुरलाई अब च्याउका परिकारले चिनाउने स्वादिलो च्याउ कर्नर सुरु गरेका छन्।
उनले किसानले उत्पादन गरेको च्याउको बजारीकरण गर्नुका साथै च्याउबाट बन्ने परिकारहरुको प्रचार गर्ने र युवाहरुलाई व्यवसायिकतातर्फ लैजान फरक ढंगले व्यवसायको सुरु गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।