काठमाडौं– सरकारले तरकारी तथा फलफूलजन्य पदार्थमा प्रयोग गरिने विभिन्न २४ किसिमका विषादी आयातमा रोक लगाएको छ। तर पनि कीटनाशक, झारनाशक, रोगनाशकलगायतका विषादी आयात भने बर्सेनि बढ्दै गइरहेको छ।
हरेक वर्ष ६ सय टनको हाराहारीमा करिब ८४ करोडभन्दा बढी मूल्यका विषादीजन्य पदार्थको आयात हुने गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। अघिल्लो वर्षमात्रै नेपालमा ६३२.४१ टन विषादी आयात भएको छ। जसमा कीटनाशक २१६ टन, रोगनाशक २६७ टन, झारनाशक १४२ टन र अन्य ५ टन छ। नेपालमा ८५ प्रतिशतभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेको पाइएको छ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाइँ नेपालमा हरेक वर्ष विषादी आयात बढ्दै गइरहेको स्वीकार गर्छन्। ‘केन्द्रको क्षमताले भ्याएसम्म हामी खतरनाक विषादीको समूचित प्रयोग गर्न नसक्दा निम्तिने समस्याका बारेमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ, तर पनि विषादीको प्रयोग हरेक वर्ष बढ्दै गइरहेको छ,’ उनले भने।
उनले पछिल्ला वर्षको तथ्यांक हेर्दा विषादी आयात बढ्दै गएको भए पनि सरकारले रोक लगाएका घातक विषादीको प्रयोगमा केही कम आएको दाबी गरे। उनी भन्छन्, ‘पछिल्लो समय घातक विषादीभन्दा पनि वनस्पतिजन्य तथा जैविक विषादीको आयात बढ्दै गएकाले तथ्यांकमा विषादी आयात बढेको देखिएको हो। सरकारले रोक लगाएका विषादी आयातचाहिँ निकै कम भएको छ।’ भारतसँगको खुल्ला सीमानाका कारण लुकीछिपी रुपमा केही परिणाम आयात भएको हुन सक्ने उनले बताए।
खतरनाक विषादीलगायत रसायन मानव स्वास्थ्य तथा वातावरणीय असरको ख्याल नगरी उत्पादन वृद्धिका लागि प्रयोग गर्ने क्रम बढ्दै गइरहेको छ। जथाभावी प्रयोग गर्दा विषादी श्वासप्रश्वास, छाला, मुख तथा आँखाको माध्यम भई शरीरमा प्रवेश गर्दछ। विषादीको नकारात्मक असर पुरुषको तुलनामा महिला तथा बालबालिकामा बढी हुने गर्दछ । विषादीका कारण तत्काल असरको रुपमा मानव मुर्छा पर्ने, झाडापखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म हुनेहुन्छ। विषादीका दीर्घकालिन असरहरुमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, नशासम्बन्धी समस्या जस्तै पक्षघात लगायतका समस्या निम्त्याउने गर्दछ।
नेपालको कृषि प्रणालीमा यस्ता विषादीको प्रयोग बढेसँगै प्रयोग गर्ने किसान तथा उपभोक्तामा पनि थुप्रै स्वास्थ्य समस्या निम्तिएका छन्। जसले गर्दा नेपाल सरकारले २४ किसिमका विषादीजन्य पदार्थ आयातमा रोक लगाएको छ।
सरकारले रोक लगाएका २४ घातक विषादी
सरकारले हालसम्म २४ वटा खतरनाक विषादी आयातमा रोक लगाएको छ । अल्ड्रिन, विएचसी, क्यारोडेन, डाइअल्ड्रिन, डिडिटी, डीन्ड्रन, हेप्टाक्लोर, लिन्डेन, अर्गानो मक्र्युरी फंगीसाईड, मिरेक्स, फस्फाइडिन, टोक्साफेन, मोनोक्रोटोफस, मिथाइल पाराथियन, इण्डोसल्फान, फोरेट, र बेनोमाइलजस्ता घातक विषादीको आयातमा प्रतिबन्ध लगाएको हो । यसअघि नै आयात भइसकेका यी कतिपय विषादीलाई २०७७ सम्म प्रयोग तथा बेचबिखनका लागि भने सरकारले अनुमति दिएको छ।
विषादीका कारण वार्षिक ३ लाख बढीले गुमाउँछन् ज्यान
संसारमा ४ करोड मानिसमा विषादीको कारण कुनै न कुनै असर परेको विभिन्न अध्ययनले देखाएका छन्। जसमा विषादीको प्रयोगकै कारण ज्यान गुमाउनेको संख्या पनि निकै ठूलो छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको जनाइएको छ। सन् १९८४ मा भारतको भोपालमा विषादी चुहावटका कारण भएको असरले २० हजार मानवीय क्षति भएको थियो। ५ लाखभन्दा बढी घाइते भएका थिए। सोही घटनालाई स्मरण गर्दै सन् १९९८ देखि पेस्टिसाइड एक्सन नेटवर्क ९पान०ले हरेक वर्ष डिसेम्बर ३ लाई विषादी प्रयोग मुक्त दिवस ९नो पेस्टिसाइड युज डे० का रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको छ।
विषादीबाट हुने असरलाई अभियानका रुपमा अगाडि बढाउने क्रममा नेपालमा पनि सन् २०१३ देखि यो कार्यक्रम सप्ताहव्यापी रुपमा मनाउँदै आएको छ। यसवर्ष ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ नेपालले यही पुस २३ देखि २९ गतेसम्म सप्ताहव्यापी रुपमा विषादीमुक्त दिवस मनाउने भएको छ । यस कार्यक्रममार्फत् सम्बन्धित किसानका लागि विषादीको प्रयोग तथा असरका बारेमा चेतनामूलक प्रचारप्रसार गरिने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।
६ वर्षदेखि सरकारले विषादीमुक्त दिवस मनाउँदै आए पनि विषादीको प्रयोग र त्यसबाट निम्तिएका असर न्यूनीकरण हुन सकेको छैन। सप्ताहव्यापी कार्यक्रममार्फत् वार्षिक लाखौं रकम केन्द्रले खर्च गर्दै आए पनि सम्बन्धित व्यक्तिसम्म सूचनाको पहुँच पुग्न नसकेकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने सरोकारवालाले टिप्पणी गरेका छन्।
विषादीको प्रयोग तथा असरबारे अझै सम्बन्धित व्यक्तिसम्म चेतना पुर्याउन नसकेकाले घातक विषादीको अनुचित प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाइँ बताउँछन्। यो समस्या निराकरणका लागि केन्द्रको एकल प्रयासले मात्र सम्भव नभएकाले सरोकारवाला सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।