काठमाडौंं- नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालमा पदाधिकारी चयन भएका छन्। नाडाको पुस ४ गते भएको साधारण सभाबाट अध्यक्ष तथा कार्यसमिति सदस्य निर्वाचित भएका थिए। कार्यसमिति सदस्यहरुबाट पदाधिकारी चयन गर्ने विधानमा भएको व्यवस्था बमोजिम सोमबार नाडाको पदाधिकारी चयन भएका हुन्।
नवनिर्वाचित नयाँ कार्यसमितिले सदस्यहरुमध्येबाट दुई जना उपाध्यक्ष, संस्थागत तर्फबाट दुई उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष तथा सहकोसाध्यक्ष चयन गरेको हो। सर्वसम्मत रुपमा निर्वाचित सदस्यहरु मध्येबाट करण चौधरी र आकाश गोल्छा उपाध्यक्ष, संस्थागत तर्फबाट सुवास आचार्य र नवराज ढकाल उपाध्यक्ष भएका हुन्।
त्यस्तै महासचिवमा सुनिल रिजाल, सचिवमा अनुपकुमार बराल, कोषध्यक्ष सुरेन्द्रकुमार उप्रेति र सहकोषाध्यक्ष बिक्रम सिंघानिया चयन भएका छन्। उनीहरु यसअघिको कार्यसमितिमा समेत सोही पदमा थिए।
नयाँ नेतृत्व आएसँगै पदस्थापन समेत गरिएको थियो। पदस्थापनका क्रममा निवर्तमान अध्यक्ष सम्भुप्रसाद दाहालले नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलाललाई पदस्थापन गराएका थिए। पदस्थापन कार्यक्रम पछि भएको बैंठकले पदाधिकारी र विभिन्न समितिका सभापतिको टुंगो लगाएको थियो।
बैंठकले नाडा अटो शोको संयोजकमा राजनबाबु श्रेष्ठलाई चयन गरेको छ। नाडाले हरेक वर्ष दसैंअघि अटो शो गर्दै आएको छ। टु ह्वीलर्स कमिटिको सभापतिमा अभिक ज्योति, फोर ह्वीलर्स कमिटिको सभापति करण चौधरी र सडक सुरक्षा तथा वातावरण कमिटिको सभापतिमा निराकार श्रेष्ठ चयन भएका छन्। यद्यपी श्रेष्ठ पहिलो कार्यसमिति बैठकमा भने सहभागी थिएनन्।
ट्याक्टर-वर्कसप समितिमा कपिल शिवाकोटी, राजस्व कमिटिमा दिपक अग्रवाल, प्रचार–प्रसार समितिमा अनुप बराललाई चयन भएका छन्। त्यस्तै नाडा कार्यसमितिले अन्य विषयगत समितिसमेत बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।