काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन व्यवसायीहरुलाई नेपाल भ्रमण वर्ष– २०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन अपिल गरेका छन्। नेपाल भ्रमण वर्ष– २०२० देशको प्रतिष्ठासँग जोडिएको कार्यक्रम भएको भन्दै यसका लागि राष्ट्रिय एकता आवश्यक रहेको उनले बताए।
नेपाल भ्रमण वर्ष– २०२०को सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष– २०२०को बिषयमा आयोजना गरेको छलफलमा मन्त्री भट्टराईले पर्यटन व्यवसायीहरुलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रा गर्न आग्रह गरे। उनले भने, ‘सरकार तपाईंहरुको साथमा छ, तर अब तपाईंहरु पनि माग मात्रै नराख्नुहोस्। सबै मिलेर काम गरौं।’
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष– २०२० को उद्घाटन भव्य रुपमा सफल पार्न पर्यटन व्यवसायीहरुको सक्रिय सहभागिताको लागि अपिल गरे। उनले भने, ‘नेपाल भ्रमण वर्ष– २०२० लाई उत्सवको रुपमा भव्यताको साथ मनाऔं। हरेक पर्यटन व्यवसायीहरुले उद्घाटनको दिन भव्य दिपवाली गर्नुहोस्। कार्यक्रममा पहिचानसहित आउनुहोस्।’ मन्त्री भट्टराईले पर्यटन व्यवसायीहरुलाई आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थानहरुमा नेपाल भ्रमण वर्ष– २०२०को प्रचार सामग्री राख्न आग्रह गरे।
उनले भने, ‘तपाईंहरुको कार्यालय, होटल, रेष्टुरेन्टहरुमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचार हुने गरी केही न केही सामग्री राख्नुहोस्। यसको अनुगमन गर्न हामी आउँछाैं।’ नेपाल भ्रमण वर्ष–२०२० को बिषयमा उत्कृष्ट काम गर्ने व्यवसायीहरुलाई सरकारले सम्मानित गर्ने उनले बताए। मन्त्री भट्टराइले भने, ‘राम्रो गर्नुहोस् हामी तपाईंहरुको कामलाई सम्मान गर्नेछौं।’
मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कूल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको भन्दै १५ औं पञ्चबर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने सरकारको लक्ष्यमा व्यवसायीहरुको सहयोग जरुरी रहेको बताए।
कार्यक्रममा मन्त्रालयका सचिव केदाबहादुर अधिकारी, नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले भ्रमण वर्षको तयारीको बारेमा बोलेका थिए। कार्यक्रममा एक दर्जनबढी व्यवसायी तथा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संगठनका अगुवाहरुले नेपाल भ्रमण वर्ष–२०२०लाई सफल बनाउन सक्रिय हुने प्रतिबद्धता जनाए।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तबीर लामा, वरिष्ठ व्यवसायी द्धारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ, नदी संरक्षण संघका उपाध्यक्ष मेघ आले, वरिष्ठ आरोही मिङमा शेर्पा, टेन्डी शेर्पा व्यवसायी सुमन पाण्डे, आङछिरिङ शेर्पा, थानेश्वर देवकोटा, गंगाप्रसाद नेपाल लगायतले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए।
पछिल्लो एक साता यता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष– २०२० को बिषयमा छलफललाई तीव्र बनाएका छन्। मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग नेपाल भ्रमण वर्ष– २०२०को बिषयमा छलफलको आयोजना गरेका थिए। यसैगरी १९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरुसँग छलफलको आयोजना गरे।
मन्त्री भट्टराईले २३ मंसिर २०७६ मा नेपालका वायु सेवा सञ्चालकहरुका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’का पदाधिकारीहरुसँग छलफलमा गरे। यसैगरी २४ मंसिर २०७६ मा विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।