काठमाडौं- नेपालको हवाई उद्योगमा छुट तथा सहुलियत दिने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले विदेशी वायुसेवा कम्पनीलाई नेपाल उडानमा प्रोत्साहन दिनुपर्ने भन्दै रिपोर्ट बुझाएको छ।
प्रतिवेदनमा १० वटा क्षेत्रमा प्रोत्साहन दिनुपर्ने सुझाव मन्त्रालयलाई दिइएको छ, जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ घन्टा नै उडान गर्न दिनुपर्ने लगायत विषय समावेश छन्।
१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चौबिसै घन्टा उडान गर्न दिनु पर्ने।
२. लिन आवर, नरमल आवर र पिक आवरमा उडान गर्नेहरुका लागि सोही अनुसार स्लट मिलाउँदै एरोनटिक शुल्कमा निर्धारण हुनु पर्ने।
३. लिन आवरमा उडान गर्ने वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ तथा ग्राउन्ड ह्यान्डलिङमा विशेष छुटको व्यवस्था गर्नु पर्ने।
४. आन्तरिक वायुसेवा कम्पनीहरुको कुल जहाज संख्याको ३० प्रतिशत जहाज नेपालगञ्ज, पोखरा र विराटनगरमा राख्न सक्ने व्यवस्था मिलाउनु पर्ने।
५. अन्तर्राष्ट्रिय टर्मिनल भवनको ट्रान्जिट हल, ट्रान्जिट कार्गो यार्ड तथा ड्युटी फ्रि सप सञ्चालनको व्यवस्था मिलाउनुपर्ने।
६. अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई विमानस्थल भित्रबाटै आन्तरिक विमानस्थलमा जाने र आउने अलग्गै प्यासेजको व्यवस्था गर्नु पर्ने।
७. केही समय तोकी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई निश्चित वित्तिय उत्पे्ररणाको व्यवस्था गर्ने।
८. एयरसाइटमा उपलब्ध गराउने सेवाहरुको शुल्कमा लाग्ने मूल्य अभिवृद्धिकर छुट तथा न्यूनीकरण गर्ने।
९. नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनीलाई कम्तीमा ३ वर्ष (पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत) का लागि वित्तीय उत्पे्ररणाको व्यवस्था गर्ने।
१०. निश्चित संख्या वा फ्रिक्वेन्सीमा उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई स्वयम् ग्राउन्डह्यान्डलिङ गर्न दिने र फ्लाइट क्याटरिङ्ग वा इन्जिनियरिङ ह्यांगर, एयरपोर्ट होटल सञ्चालन गर्न चाहेमा सहुलियत दरमा जग्गा लिजमा उपलबध गराउने।
यसबाहेक कार्यदलले जेष्ठ नागरिकलाई हवाई भाडमा छुट, हवाई इन्धनको मूल्य समायोजन, अन्तरप्रदेश उडानमा छुट र विदशीलाई पनि समान भाडामा आन्तरिक हवाई यात्रा गराउर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिँदै प्रतिवेदन बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।