काठमाडौं- सरकारले भिजिट नेपाल २०२० का लागि झन्डै ६२ करोड रुपैयाँ विनियोजना गरेको छ। सरकारले भिजिट नेपाल सचिवाल मार्फत ६१ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ मा का लागि विभिन्न शीर्षकमा यो रकम विनियोजन गरेको छ। भिजिट नेपालका लागि विनियोजन भएको बजेटको अख्तियारी भिजिट नेपाल सचिवाला अर्थात राष्ट्रिय संयोजकले खर्च गर्न पाउने छन्।
कुन कार्यक्रमका लागि कति?
१. सञ्चालन खर्च : भिजिट नेपाल २०२०को सचिवालयले कुल बजेटको ८ दशमलव १ प्रतिशत रकम सञ्चालन खर्चमा छुट्याएको छ। सञ्चालन खर्चमा सचिवालयले ४ करोड ९९ लाख ९७ हजार रुपैयाँ चालू आवमा खर्च गर्ने गरी बजेट तथा प्रस्तावित कार्यक्रममा तय गरेको छ।
पारिश्रमिक तथा सुविधामा : सरकारले भिजिट नेपाल २०२० अन्तर्गतको सचिवालयलाई पारिश्रमिक तथा सुविधामा १ करोड ७४ लाख ४२ हजार रुपैयाँ रहेको छ। जसमा तलब (सेवा करारका कर्मचारी समेत) शीर्षकमा ९४ लाख १२ हजार रुपैयाँ, बैठक तथा प्रोत्साहन भत्ता शीर्षकमा ७७ लाख ८० हजार रुपैयाँ र पोशाक शीर्षकमा २ लाख ५० हजार रुपैयाँ छुटाएको छ।
मालसामान तथा सेवाको उपभोग : सरकारले भिजिट नेपाल २०२० अन्तर्गत विनियोजन गरेको बजेट मध्ये यो शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा टेलिफोन तथा इन्टरनेटमा १० लाख, पानी तथा बिजुलीको महशुलमा ५ लाख र भाडामा ५ लाख रुपैयाँ छुटाएको छ।
पूँजीगत सम्पत्तिको सञ्चालन तथा मर्मत : यो शीर्षकमा सरकारले १५ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा पूँजीगत सम्पत्तिको मर्मतमा ५ लाख र पूँजीगत सम्पत्तिको सञ्चालन खर्च(इन्धन)मा १० लाख रुपैयाँ छुटाएको छ।
कार्यालय सामान तथा सेवाहरू : यो शीर्षकमा भिजिट नेपाल २०२० को सचिवालयले १ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ। जस अन्तर्गत कार्यालय सम्बन्धी खर्चमा २० लाख, अन्य प्रयोजनको इन्धनमा १ लाख, कार्गो तथा कुरियर सेवामा २० लाख, सरसफाइ, कम्पुटर टाइप सुरक्षा आदिको लागि सेवा करारमा १ लाख, इमेल, इन्टरनेट सेवा होष्टिङ तथा नेटवर्किङमा १० लाख, विज्ञ तथा परामर्श सेवामा ४० लाख र सूचना, विज्ञापन प्रकाशनमा ५ लाख रुपैयाँ बाडफाड गरेको छ।
निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सुधारः यो शिर्षक भिजिट नेपाल सचिवालयले २० लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा सचिवालयको बगैंचा, मन्दिर एवम् कम्पाउन्ड मर्मतमा १० लाख र सचिवालयको भवन मर्मत तथा सुधारमा १० लाख रुपैयाँ छुटाएको छ।
विविध खर्च : यो शीर्षकमा भिजिट नेपाल २०२० को सचिवालयले ५० लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा सबै रकम अथितिको सत्कारमा खर्च गर्ने गरी रकम विनियोजन भएको छ।
भ्रमण खर्च : सचिवालयले यो शिर्षकमा ७५ लाख रुपैयाँ छुटाएको छ। जसमा अनुगमन भ्रमण खर्चमा २५ लाख र भ्रमण खर्चमा ५० लाख रुपैयाँ राखेको छ।
पूँजीगत खर्च : यो शीर्षकमा सचिवालयले कुल ३९ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमा फर्निचर तथा फ्लोरिङमा ७ लाख ४५ हजार, मेशिनरी सामानमा १९ लाख ६० हजार, सवारी साधन खरिदमा ७ लाख ५० हजार र सफ्टवेयर तथा वेभसाइट निर्माणमा ५ लाख रुपैयाँ रकम बाँडफाँड गरेको छ।
२. कार्यक्रम तर्फ
कार्यक्रम निरन्तरता (२०७५/०७६ बाट) : यो शीर्षकमा सचिवालयले १ करोड २३ लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमा सिट्रिप चीनसँगको सहकार्यको कामको लागि ५७ लाख ५० हजार, ट्रिप एडभाइजर मार्फत डिजिटल प्रवर्द्धनमा २८ लाख ७५ हजार, लोन्लिप्लान्ट मार्फत लाइफ टाइम एक्सपेरियन्स सम्बन्धी पकेट ट्राभल गाइड बुक लेखनका लागि १७ लाख २५ हजार, होटल संघ नेपाल र टान मार्फत तालिम सञ्चालनमा १७ लाख ३६ हजार र नेपाल भ्रमण वर्षको वेबसाइट निर्माणका लागि २ लाख ७७ हजार रुपैयाँ बाँडफाँड भएको छ।
३. पर्यटन प्रोडक्ट
भिजिट नेपाल सचिवालयको यो शीर्षकमा १० करोड ९० लाख रुपैयाँ छुट्याएको छ। यो रकम कुल बजेटको १७ दशमलव ६५ प्रतिशत हो। जसमा नमस्ते सेन्टर स्थापनामा १ करोड ५० लाख, नयाँ पर्यटक प्रोडक्टमा १ करोड ५० लाख, काठमाडौं र जनकपुरमा रात्रिकालीन कार्यक्रम सञ्चालन गर्न २ करोड, प्रदेश पर्यटन विकासमा २ करोड, विमानस्थल सौन्दर्यीकरण तथा ब्रान्डिङमा १ करोड, पर्यटकीय गन्तव्यहरूमा रुख रोपनका लागि १ करोड, विश्वकै होचो कालिगण्डकी गर्जमा माउन्टेन बाइट ट्रेल विकासका लागि ५० लाख, शिवशक्ति सर्किट अध्ययन तथा अनुसन्धानका लागि ७० लाख र टेम्पल स्टे प्याकेज निर्माण तथा विकासमा ७० लाख रुपैयाँ छुट्याएको छ।
यस बोहक पनि सचिवालयले प्रचार प्रसार तथा प्रवर्द्धनका लागि १५ विभिन्न शीर्षकमा गरी कुल २६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ।
यसैगरी खेल पर्यटन तर्फका ९ वटा खेलको लागि ३ करोड १५ लाख रुपैयाँ, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्टी सेमिनार तथा इभेन्ट्स आयोजन तर्फको २४ वटा कार्यक्रममा लागि १२ करोड ७८ लाख रुपैयाँ बाँडफाँड गरेको छ।
यसैगरी सचिवालयले मानव संशाधनतर्फ विकास शीर्षक ३ वटा कार्यक्रमका लागि १ करोड ५५ लाख रुपैयाँ र भुक्तानी हुन पर्ने दायित्व शीर्षकमा ८७ लाख ९७ हजार रुपैयाँ गरी चालू आवमा कुल ६१ करोड ७४ लाख ५७ हजार २८ रुपैयाँ बजेट सचिवालयले पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।