काठमाडौं- सरकारले नेपाल पर्यटन बोर्डका सिइओ (प्रमुख कार्यकारी निर्देशक) दीपक राज जोशीको समय ३ महिना थप्ने भएको छ।
बोर्डको सञ्चालन समितिले नयाँ सिइओ छनोट प्रक्रियामा केही समय लाग्ने भएसँगै जोशीको समय थप गर्ने निर्णय भएको हो। सञ्चालक बोर्डका एक सदस्यका अनुसार जोशीको कार्यकाल थप ३ महिना थप्ने निर्णय भएको हो।
तर, बोर्डका सकै सञ्चालक सदस्यहरूबाट हस्ताक्षर भने हुन बाँकी छ। जोशीको ४ वर्ष कार्यकाल यही डिसेम्बर २३ मा सकिँदै छ। भिजिट नेपालको सुरुवात हुने समय नजिकिँदै गरेको अवस्थमा बोर्डको सिइओ पद खाली गर्न उचित नहुने भन्दै ३ महिनाको समय थप गर्ने निर्णय भएको स्रोतको दाबी छ।
स्रोतका अनुसार अब जोशी मार्च २३ सम्म बोर्डका सिइओ रहने छन्। नयाँ सिइओ नियुक्ति उपसमितिले मंगलबार मात्रै २१ दिनको समय दिँदै नयाा सिइओको लागि आवेदन मागेको थियो।
सबै प्रक्रिया पुरा गरेर सिइओ नियुक्ति गर्न २ देखि ३ महिनाको समय लाग्ने भएपछि वर्तमान सिइओ जोशीको ३ महिना समय थप्ने निर्णय भएको स्रोतको दाबी छ।
बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरुले कम्तिमा १ वर्षका लागि जोशीको कार्यकाल थप गर्नुपर्ने अडान लिएका थिए। तर सरकारी कोटबाट प्रतिनिधित्व गर्नेले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।
बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन्। अहिले सचिव केदारबहादुर अधिकारी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।