जनकपुर– कुनै बेला जनकपुरधाम-जयनगर ब्रोडगेज रेल सुरुवात हुने खबरले जनकपुरधामवासी उत्साहित र खुसी थिए। तर, अहिले कुरा धेरै, काम कम हुँदा उनीहरूको उत्साह घटेकाे छ।
‘अब रेल आउने र नआउने कुरा सुनेर हामीलाई उत्साह छैन। विश्वास पनि लाग्दैन‚’ रेल वे स्टेशन रोडमा ल्यापटप रिपेयरिङ सेन्टर सञ्चालन गर्दै आएका उमेश महताले भने। जनकपुरधाम रेल वे स्टेशनकै छेउमा चियानास्ता पसल संचालन गर्दै आएका जितेन्द्र साह पटक-पटक सरकारबाट रेल चलाउने कुरा भएकाे तर काम नभएकाले अब रेल चलेपछि मात्रै विश्वास लाग्ने बताउँछन्।
नेपालको एकमात्र जनकपुर-जयनगर ब्रोडगेज रेल २०७५ असोजदेखि नै सञ्चालन हुने बताइएको थियो। तर, त्यो मिति सर्याे। त्यसपछि २०७५को मंसिरमा सीताराम विवाहपञ्चमी महोत्सवमा रेल सञ्चालनमा आउने सरकार पक्ष र रेल वे विभागले दाबी गरे।
२०७५ सालको असोज र मंसिर कता हो कता, २०७६ को विवाहपञ्चमी महोत्सवले पनि सकियाे रेल आएन। तत्कालै रेल सञ्चालन हुने सम्भावना नै छैन। नेपाल सरकारका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रेल वे विभागका कर्मचारीले रेल सञ्चालन हुने भनी दिएका अभिव्यक्ति पनि अहिले झूठा सावित भएका छन्।
अझै केही महिना लाग्छ
रेल सञ्चालन गर्न चाहिने इन्जिन, आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा रेल सञ्चालनमा आउन नसकेको नेपाल रेल वे विभागका महानिर्देशक बलराम मिश्रले बताए। उनले रेलको डब्बा निर्माण भई पेन्टिंग भइरहेको र आवश्यक जनशक्तिका लागि कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएकाले साढे २ महिना समय लाग्ने जानकारी दिए।
४ महिनाअघि मात्र महानिर्देशक मिश्रले मंसिरको मध्यसम्ममा रेल सेवा सञ्चालन हुने बताएका थिए। अबको साढे दुई महिनामा रेल सञ्चालनमा आइहाल्छ भन्ने विश्वास गर्न गाह्रो छ। सुरुमा भारतसँग रेल वेको इन्जिन भाडामा लिएर रेल सेवा सञ्चालन गर्ने चर्चा थियो। तर पछि नेपालले भारतसँग खरिद गरी आफ्नै रेल इन्जिन ल्याएर रेल सेवा सञ्चालन गर्ने प्रक्रियाअघि बढायो।
जसअनुसार दुईवटा रेल किन्न रेल विभाग र भारतको सरकारी कम्पन्नी कोकण रेल वेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भइसकेको छ। अहिले दुई सेट रेल भारतको मद्रासस्थित कोकण रेल वेज कर्पोरेशन कम्पनीमा निर्माण भई रंगरोगनको काम भइरहेको महानिर्देशक मिश्रले जानकारी दिए।
रेल नगुड्दै भत्किए संरचना
रेल सञ्चालनका लागि तयार पारिएका रेल वे लिकसहितका भौतिक संरचनामा क्षति पुगेको छ। लिकको विभिन्न स्थानमा फलामको लिक क्लिप, नट, ठाउँ–ठाउँमा बाटो काट्न प्रयोग गरेको टायल्स, खानेपानीको धारालगायतमा क्षति पुगेको छ। रेल वे विभागका साइट इन्जिनियर विनोद ओझाका अनुसार केही सामान चोरी पनि भएको छ।
ओझाले भने, ‘ठाउँ-ठाउँमा क्लिप, नट, टायल्स, खानेपानीको धारा चोर्नेजस्ता उच्छृंखल गतिविधि भएका छन्। यद्यपि हामी रोक्ने प्रयासमा छौँ।’ उनले यस्तो गतिविधि रोक्न र संरचनाको संरक्षण गर्न सहयोगको लागि प्रहरीलाई पत्राचार गरेको जानकारी दिए।
रेल सेट पुससम्ममा आइपुग्ने
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरिद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ। भारतीय सरकारी कम्पनीमार्फत् रेल सेट खरिद गर्न लागिएको हो। रेल सेट निर्माणसँगै रेलमार्ग निर्माण र रेलको विनियमावली बनाउने काम भइरहेको रेल विभागका प्रवक्ता (वरिष्ठ डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए।
भारतीय कम्पनीले निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिनसकेकाले क्षति पुगेको स्थानमा समेत सोही ठेकेदार कम्पनीले काम गर्नेछ। उनले भने, ‘त्यो काम पनि पुससम्ममा सकिने भारतीय पक्षले हामीलाई जानकारी दिएको छ।’ रेल सञ्चालनका लागि पूर्णतयारीमा रहेको रेल वे लिक बाढीले भत्काएपछि मर्मत सम्भार धमाधम भइरहेको छ।
गत असार पहिलो साता अविरल वर्षासँगै आएको बाढीले जानकनन्दनी गाउँपालिका १ इनरवास्थित सीमावर्ती क्षेत्रमा झण्डै १ सय मिटर रेल वे लिक तलको माटो बगाएर क्षति पुर्याएको थियो। क्षति पुर्याएको रेल वे लिकको मर्मत र माटो पुर्ने काम भइरहेको ईन्जिनियर विनोद ओझाले बताए।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको निर्माण भइरहेको हो। ‘जी टु जी’ (दुई सरकारकाबीच) प्रक्रियाबाट रेल खरीद भएको प्रवक्ता चित्रकारले बताए। दुईवटा सेटमध्ये एउटा सेट पुससम्ममा आइपुग्नेछ।
डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधीको सो सेटमा एउटामा पाँचवटा डिब्बा रहने रेल विभागका प्रवक्ता चित्रकारले बताए। उनका अनुसार सरकारले अहिले दुईवटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यी दुई सेटको क्षमता एक हजार २ सयसम्म यात्रु बोक्ने रहेको उनले बताए।
कति काम भयाे?
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको प्रवक्ता चित्रकारले बताए। रेल लाइन तथा रेल वे स्टेशन तयार भइसकेको उनले जानकारी दिए।
यसमा कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटर समेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुनेछ। कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २ सय कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ।
रेल सञ्चालनका लागि कम्पनीमा सबै गरेर २ सयभन्दा बढी जनशक्ति आवश्यक पर्ने विभागले बताउँदै आएको छ। एक जना प्रमुख, सञ्चालन, मर्मतलगायतका कामका लागि इन्जिनियरिङ क्षेत्रका जनशक्ति, प्रशासन, लेखा लगायतका कर्मचारी आवश्यक भएको भन्दै विभागले प्रस्ताव गरेको हो।
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१०मा सम्झौता गरेको थियो। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको चित्रकारले जानकारी दिए।
तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनी बाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन। विराटनगरदेखि बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ ।
सीमा क्षेत्रमा निर्माण गर्ने भनिएका अन्य तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन्। यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।