काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार गर्ने अनुमति पाएका धितोपत्र सदस्य दलाल व्यवसायीहरुलाई मार्जिन कारोबार सेवा सञ्चालनका लागि तयार पारेका कार्यविधि, दिग्दर्शन तथा अन्य नीतिगत तथा कार्यगत व्यवस्थासम्बन्धी विवरण पेस गर्न पत्राचार गरेको छ।
मार्जिन कारोबार सुरु गर्नका लागि दलाल कम्पनीहरुले तयार पारेको आन्तरिक व्यवस्था र पूर्वाधारबारे बुझ्न नेप्सेले शुक्रबार पत्राचार गरेको हो। मार्जिन कारोबारको स्वीकृति लिएका २१ वटा धितोपत्र दलाल कम्पनीमध्ये ८ वटाको मात्रै आर्थिक वर्ष २०७६/७७ का लागि अनुमतिपत्र नवीकरण भएको थियो।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट मार्जिन कारोबारको अनुमतिपत्र पाएका २१ वटा धितोपत्र दलाल सदस्य व्यवसायीहरु मध्ये अघिल्लो आर्थिक वर्षमा अनुमतिपत्र प्राप्त गरेका कञ्चनजंघा सेक्युरिटिज प्रालि, सेक्युर्ड सेक्युरिटिज प्रालि, भिजन सेक्युरिटिज प्रालि, नेपाल स्टक हाउस लिमिटेड, प्राइम सेक्युरिटिज प्रालि, श्रीकृष्ण सेक्युरिटिज प्रालि, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि र दिपशिखा धितोपत्र कारोबार कम्पनी लिमिटेडको अनुमतिपत्र नवीकरण गरिएको थियो।
मार्जिन कारोबारका लागि यी कम्पनीहरुले तयार पारेको नीतिगत तथा कार्यगत व्यवस्थाबारे जानकारी लिन पत्राचार गरिएको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।