काठमाडौं- बैंक तथा वित्तीय क्षेत्रको साइबर सुरक्षामा चुनौती बढ्दै गएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले यो विषयलाई गम्भीर रुपमा हेर्न थालेको छ। साइबर डकैती सम्बन्धी सार्वजनिक भएका पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले नयाानयाँ निर्देशन जारी गर्न थालेको हो।
बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले बिहीबार दिएको निर्देशनअनुसार अब हरेक संस्थाले सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह (इन्फर्मेसन टेक्नोलोजी इन्सिडेन्ट रेस्पोन्स टिम) बनाउनुपर्ने भएको छ। त्यस्तो समूह गठन गरी कार्यान्वयनमा ल्याई त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्नेछ।
राष्ट्र बैंकअन्तर्गतको भुक्तानी विभाग प्रणालीलाई त्यस्तो समूहको विस्तृत विवरण बुझाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको हो।
त्यस्तो समूहले संस्थाको आइटी सुरक्षामा विशेष निगरानी गर्नेछ भने संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधि तथा अनधिकृत पहुँच भएमा अविलम्ब सोको जानकारी नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।