काठमाडौं- गैरीधारामा इसुजुको नयाँ सोरुम खुलेको छ। नेपालका लागि इसुजु गाडीको अधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको उद्घाटन नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गरेका हुन्।
इसुजुको यो ११औं सोरुम भएको कम्पनीले जनाएको छ। सोरुम उद्घाटनका क्रममा इसुजु इन्डियाका डेपुटी म्यानेजिङ डाइरेक्टर केन ताकासिमाको पनि उपस्थिति थियो। सोरुम उद्घाटन गर्दै कन्टिनेन्टलका अध्यक्ष सुहृदराज घिमिरेले उक्त कम्पनीले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी दिए।
इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपूर्जा उपलब्ध गराउन कम्पनीले देशभर १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको उनको भनाइ छ।
बिक्री र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने कम्पनीको योजना रहेको घिमिरेले बताए। हाल नेपालमा उपलब्ध इसुजुका गाडीमा सुरुआती मूल्य २४ लाख ९० हजार रहेको छ। त्यस्तै एस क्याबको ४४ लाख ९० हजार, भि–क्रस २.० को ६८ लाख ९० हजार र जिप भेरिएन्टको एसयुभी मक्स गाडी छन्। मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको छ।
इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ। डिजेल इन्जिनमा इसुजु विश्वविख्यात कम्पनी हो। यसका डिजल इन्जिनहरू असाध्यै बलिया मानिन्छन्। इसुजुको भारत र थाइल्यान्ड प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्छ।
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस प्वाइन्ट खोल्ने दाबी गरेको छ।
इसुजु मोटर्स लिमिटेड जापानी कमर्सियल भेइकल र डिजेल इन्जिन निर्माता कम्पनी हो। १ सय ३ वर्ष पुरानो यो कम्पनीले इसुजु ब्रान्डमा कमर्सियल भेइकल र डिजेल इन्जिन उत्पादन र मार्केटिङ गर्छ।
यसका भेइकल उत्पादन प्लान्ट विश्वका विभिन्न २८ देशमा देशमा छन्। एक शताब्दीको अवधिमा इसुजुले दुई करोड ८० लाख थान डिजेल इन्जिन उत्पादन गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।