काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजारमा लगानी गर्न सार्वजनिक कोषहरुलाई आह्वान गरेका छन्। कर्मचारी सञ्चय कोषको ५८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सार्वजनिक कोषहरुले पुँजी बजारमा लगानी गरेर पुँजी बजारप्रति लगानीकर्ताको गुमेको विश्वास जगाउने बेला आएको बताएका हुन्।
‘नेपालको पुँजी बजारमा लगानीकर्ताको विश्वास बढाउनुपर्ने अवस्था आएको छ। त्यो विश्वास बढाउनका लागि दोस्रो बजारमा जान यो उपयुक्त मौका हो,’ अर्थमन्त्री खतिवडाले भने।
‘दोस्रो बजारमा नयाँ लगानीकर्ताहरुले लगानी गर्ने यो उपयुक्त समय हो। र, पुँजी बजारलाई गति दिनका लागि आह्वान गर्न चाहन्छु। सार्वजनिक संस्थाहरुलाई क्रियाशील भएर लाग्न पनि आग्रह गर्छु,’ अर्थमन्त्री खतिवडाले भने।
ऐन नियमले दिएको अवस्थासम्म यस्ता कोषहरु पुँजी बजारमा लगानी गर्न हिचकिचाउन नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ। ‘कर्मचारी सञ्चय कोष दोस्रो बजारको प्लेयर होइन। तपाईंहरुलाई म दोस्रो बजारमा जानुस् भन्दिनँ। तर अन्य कोषहरुले पुँजी बजारको दोस्रो बजारमा पनि भूमिका खेल्न सक्छन्,’ उनले भने।
अहिले पुँजी बजारको दोस्रो बजारमा लगानी गर्ने उपयुक्त वातावरण बनेको आधार पनि अर्थमन्त्री खतिवडाले दिएका छन्। ‘बैंक, वित्तीय संस्थाको नाफा बढ्दैछ। आर्थिक वृद्धिदर उच्च छ। राजनीतिक स्थायित्व कायम भएको छ। सुशासन सुदृढ हुँदैछ। करका समस्या हल हुँदैछन्,’ उनले भने।
नेपालको दीर्घकालीन बचत गर्ने सबैभन्दा ठूलो संस्था कर्मचारी सञ्चय कोष रहेका कारण पनि मुद्रा बजार र पुँजी बजारमा सञ्चय कोषले महत्वपूर्ण भूमिका खेल्ने खतिवडाले बताए। नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, प्रहरी कल्याणकारी कोष, दुरसञ्चार कोष लगायत सार्वजनिक क्षेत्रमा रहेका कोष र सरकारले सञ्चालन गरेका कोषहरुको पुँजी जोड्दा कुल ग्राहस्थ उत्पादनको २० प्रतिशत रहेको कुरा स्मरण गराउँदै अर्थमन्त्री खतिवडाले त्यस्ता कोषहरुको रकम पुँजी बजार र मुद्रा बजारको स्थायित्वका लागि पनि प्रयोग गरिनुपर्ने बताए।
‘यी कोषहरुको ठूलो रकम पुँजी बजारमा खर्च खर्च र केही रकम मुद्रा बजारमा पनि जान्छ। यस्ता कोषहरुले बेलाबेला मुद्रा बजारलाई उत्तेजित बनाउने कार्यहरु गर्न थाले भनेर हामीले ब्याजदरमा मिटरिङ गरेका छौं,’ उनले भने।
यस्ता कोषहरु आर्थिक अनुशासनमा बस्न पनि खतिवडाले निर्देशन दिएका छन्।
‘अनुशासनमा बस्नुस, मुद्रा बजारलाई उत्तेजित नबनाउनुहोस्। अल्पकालीन ब्याजदरलाई बजार र अर्थ प्रणालीले धान्न नसक्ने नबनाउनुहोस्। दीर्घकालीन प्रकृतिका पूर्वाधारहरुको निर्माणका लागि सञ्चयकोष लगायत कोषहरुको भूमिका महत्वपूर्ण छ। त्यही अनुसार काम गर्नुहोस्,’अर्थमन्त्री खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।