काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दोस्रो कार्यकालको अन्तिम समयतिर छिन्। २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी उनले भोलिपल्ट पद तथा गोपनियताको शपथ लिएकी थिइन्। उनको कार्यकाल सकिन अब दुई महिनाभन्दा केही बढी समय बाँकी छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ मा व्यवस्था भए अनुसार, निर्वाचन आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा १ महिनाअघि निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ।
भण्डारीको बहिर्गमन एउटा पक्ष हो। तर, पछिल्ला दिनमा राष्ट्रपतिको निर्वाचनलाई लिएर चर्चा सुरु भइसकेको छ। केही गैरदलीय व्यक्तिको नाम चर्चामा आएसँगै राष्ट्रपतिको निर्वाचन रोचक र प्रतीक्षाको विषय बनेको हो।
कसरी हुन्छ निर्वाचन?
संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ। प्रतिनिधि सभाका २ सय ७५ र राष्ट्रिय सभाका ५८ (अहिले एक पद रिक्त भएकाले) गरी संघीय संसद्मा ३ सय ३३ सदस्य छन्। त्यस्तै, ७ वटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेश सभा सदस्य छन्।
यसरी राष्ट्रपतिको निर्वाचनमा कुल ८ सय ८३ मतदाता हुनेछन्। तीमध्ये संघीय संसद् र प्रदेश सभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ। यसअनुसार, संघीय संसद्का कुल ३ सय ३३ सदस्यको कुल मतभार (प्रतिसदस्य ७९ का दरले) २६ हजार ३०७ हुन आउँछ। त्यस्तै, प्रदेशसभाका कुल ५ सय ५० सदस्यको कुल मतभार (प्रतिसदस्य ४८ का दरले) २६ हजार ४ सय हुन आउँछ।
यसरी राष्ट्रपति (उपराष्ट्रपतिको पनि) निर्वाचनमा कुल मत ५२ हजार ७०७ हुन आउँछ। कुल मतको ५० प्रतिशत २६ हजार ३५३ दशमलव ५ हुन आउँछ। कम्तीमा त्यो संख्या कटाउन सक्ने उम्मेदवार विजयी हुनेछन्।
निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारहरुमध्ये कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा बढी मत ल्याउने दुई जनाका लागि पुनः मतदान गरिन्छ। पुनः भएको मतदानमा पनि दुवै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत नपाएमा पुनः मतदान गरिन्छ। त्यसपछि भने सदर मतको बहुमत ल्याउने उम्मेदवार विजयी हुन्छ।
२०७४ फागुन २९ मा राष्ट्रपतिका लागि भएको निर्वाचनमा संघीय संसद्का ३ सय २६ र प्रदेश सभाका ५ सय ३६ ले मतदान गरेका थिए। संघीय सांसदमध्ये ३ जना र प्रदेश सांसदमध्ये ५ जनाको मत बदर भएको थियो। निर्वाचनमा ५१ हजार ४ सय ८२ मत खसेकोमा राष्ट्रपतिमा निर्वाचित भण्डारीको ३९ हजार २ सय ७५ मत पाएकी थिइन्। प्रतिद्वन्द्वी उम्मेदवार कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत मात्रै पाइन्। पहिलो चरणमै भण्डारी निर्वाचित भएकी थिइन्।
अहिलेको मतभार कस्तो छ?
राष्ट्रपतिको निर्वाचनमा मत हाल्नका लागि संघीय संसद् र प्रदेश संसद्मा गरी १४ दलको प्रतिनिधित्व छ। त्यस्तै, थप स्वतन्त्र सांसद र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गरिएका सांसद पनि छन्।
संघीय संसद्मा ९९ र सात प्रदेश सभामा १७६ सांसद रहेको नेपाली कांग्रेससँग सबैभन्दा बढी मत छ। कांग्रेससँग मात्रै १६ हजार २६९ मत छ।
त्यस्तै, एमालेसँग १५ हजार १५४, माओवादी केन्द्रसँग ७ हजार ६४९, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५८०, राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार १४५ मत छ।
त्यस्तै, एकीकृत समाजवादीसँग २ हजार ५७४, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मत छ।
प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी सांसदहरुको संख्या १८ छ। उनीहरुसँग कुल १०५० मत छ। स्वतन्त्रमध्ये केही सांसदहरु दल निकट मानिन्छन्, गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसदको रुपमा विजयी भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादी प्रवेश गरेका छन्। तर, उनीहरुको मत स्वतन्त्र अन्तर्गत नै राखिएको छ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित तीन सांसद् छन्। उनीहरुको मत २३७ छ। तीनमध्ये एक विमला राई पौड्याल एमाले निकट र नारायण दाहाल माओवादी केन्द्र निकट हुन्। अर्का सांसद वामदेव गौतमले एमाले परित्याग गरेर थिए। उनलाई गठबन्धन निकट मानिन्छ।
राष्ट्रपतिको निर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन कायमै रहेमा र उनीहरुले सहमतिमै उम्मेदवार तय गरेमा सोही उम्मेदवारले जित्ने सम्भावना छ। गठबन्धनमध्ये पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत नै जितको लागि पर्याप्त हुन्छ। यी तीन दलसँग कुल २६ हजार ४९२ मत छ। त्यस्तै, लोसपा र राजमोको मत पनि जोड्दा सत्ता गठबन्धनको राष्ट्रपतिको उम्मेदवार थप बलियो हुनेछन्।
यद्यपि, कतिपय सांसदहरु मतदानमा सहभागी हुँदैनन्। कतिपयले मत दिन पाउँदैनन्। विगतको निर्वाचनमा पनि त्यस्तो भएको थियो। अर्कोतिर, कैयौँ साना दलले आफ्नो तर्फबाट उम्मेदवार उठाउँदैनन्। बरु ठूला दलका उम्मेदवारलाई सहयोग गर्छन्। त्यसले निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाउन सक्छ। तर, मतदाता र मत निश्चित हुने भएकाले जितहारमा उल्टिने सम्भावना भने कमै हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।