काठमाडौं– चर्चित अमेरिकी विद्युतीय कार उत्पादक टेस्ला इंकले भारतमा आफ्नो उत्पादन बिक्रीका लागि सोरुमको खोजी गरिरहेको छ। टेस्लाले भारतका ३ सहरमा सोरुम राख्नका लागि उपयुक्त स्थान रुपमा खोजी गरिरहेको द इकोनोमिक टाइम्सले लेखेको छ।
टेस्ला इंकले गएको जनवरीमा भारतमा स्थानीय कम्पनी दर्ता गरेको थियो। भारतमा कार आयात तथा बिक्रीका लागि टेस्लाले भारतमा स्थानीय कम्पनी दर्ता गरेको हो। टेस्लाले कार बिक्रीका लागि जुनसुकै देशमा आफ्नै स्थानीय कम्पनी दर्ता गरेर मात्र बिक्री गर्ने नीति अंगिकार गरेको छ।
टेस्लाले २०२१ को मध्यसम्ममा भारतमा मोडल थ्री कार बिक्री सुरु गर्ने तयारी गरेको छ। बजार पुँजीकरणका हिसाबले विश्वको सबैभन्दा मूल्यवान कार उत्पादक कम्पनी टेस्लाले भारतमा कार बिक्रीको राम्रो सम्भावना आकलन गरेको छ।
त्यसैले भारतमा हरेक सोरुमका लागि टेस्लाले २० देखि ३० हजार वर्गफिटको स्पेस खोजी गरेको छ। सोरुम र सर्भिस सेन्टर नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा खोल्ने गरी स्थान खोजी भएरहेको छ। सोरुम स्थापना गरेर कार बिक्री गरेसँगै टेस्लाले भारतमै कार उत्पादन गर्ने योजना समेत बनाएको छ।
गत वर्ष भारतमा २४ लाख कार बिक्री भएकोमा ५ हजार वटामात्र विद्युतीय कार थिए। जबकि, चीनमा गत वर्ष १२ लाख ५० हजार विद्युतीय कार बिक्री भएको थियो। नेपालमा गत वर्षदेखि नै टेस्लाका कार आयात भएको हो। तर नेपालमा टेस्लाका कार पूर्णतः अवैध रुपमा आयात हुँदै आएको छ।
यसबारेमा टेस्ला इंकले पनि र सरकारले पनि यस बारेमा चासो दिएको छैन। अहिले पनि विभिन्न बहाना र अर्कै अर्कै कम्पनी खडा गरेर टेस्लाका कार आयातको प्रयास भइरहेको छ। भारतीय सञ्चार माध्यमले केही महिना अघि नै भारतमा भन्दा पहिले हिमालयन मुलुक नेपालमा टेस्लाको कार पुगेको र त्यो कसरी सम्भव भएको भन्ने प्रश्न उठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।