काठमाडौं– रोयल इन्फिल्डको लोकप्रिय एड्भेन्चर बाइक ‘हिमालयन’का पारखीहरुका लागि खुसीको खबर छ– लामो समयको प्रतिक्षापछि कम्पनीले उक्त बाइकको अप्रग्रेड भर्सन ल्याएको छ। रोयल इन्फिल्डले भारतमा नयाँ हिमालयन लञ्च गरिसकेको छ।
पुरानो मोडलको तुलनामा धेरै परिमार्जनसहित नयाँ हिमालयन बजारमा आएको छ। सबैभन्दा महत्त्वपूर्ण पक्ष यो बाइकमा गरिएको पावर अपग्रेड हो। नयाँ हिमालयन बाइकमा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड–कुल्ड इञ्जिन दिइएको छ। जसले ४० बीएचपी पावर र ४० एनएम टर्क जेनेरेट गर्छ।
जबकि पुरानो हिमालयनमा ४११ सीसीको एयर तथा आयल कुल्ड इन्जिन दिइएको थियो भने जसले मात्र २४.३ बीएचपी पावर जेनेरेट गर्थ्यो। पुरानो हिमालयनमा ५ स्पिड गियरबक्स थियो। जबकि नयाँ बाइकमा ६ स्पिड गियरबक्स उपलब्ध हुनेछ। साथै नयाँ हिमालयनमा असिस्ट र स्लिपर क्लच फङ्सन पनि उपलब्ध हुनेछ।
नयाँ हिमालयनमा ट्याङ्कीको डिजाइन पनि परिमार्जन गरिएको छ। नयाँ बाइकको फ्यूल ट्यांकी राउन्ड सेपमा उपलब्ध हुनेछ। जबकि पुरानो हिमालयनको फ्यूल ट्याँकी रेक्टेङ्गुलर सेपमा उपलब्ध थियो। आकारमा गरिएको परिवर्तनसँगै ट्याङ्कीको क्षमता पनि बढेको छ। पुरानो हिमालयनको फ्यूल क्यापासिटी १५ लिटर थियो भने नयाँ हिमालयनको फ्यूल क्यापासिटी १७ लिटर छ।
नयाँ हिमालयनमा कम्पनीले सबै लाइटहरु एलईडी उपलब्ध गराएको छ। साथै ४ इञ्चको का फुल टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पनि नयाँ बाइकमा दिइएको छ। नयाँ हिमालयनमा स्मार्टफोन कनेक्टिभिटी, म्याप नेभिगेसन, राइड बाइ वायर, २ वटा राइडिङ मोड पनि उपलब्ध गराइएको छ। नयाँ हिमालयनको अर्को आकर्षक पक्ष भनेको यसमा दिइएको म्यूजिक प्लेइङ सिस्टम पनि हो। जसको प्रयोगबाट राइडरले राइडिङ गर्दा नै गीत–संगीत सुन्न सक्नेछन्।
बाइकमा डुअल च्यानल एबीएस (एन्टीलक ब्रेकिङ सिस्टम) पनि दिइएको छ। जुन स्विचेबल हो।
भारतमा नयाँ हिमालयनको सुरुवाती मूल्य २ लाख ६७ हजार भारु (एक्स–शोरुम) छ। यसको टप भेरियन्टको मूल्य २ लाख ८४ हजार भारु (एक्स–शोरुम) छ। नेपालमा भने यो बाइकका लागि केही समय प्रतिक्षा गर्नुपर्नेछ।
एड्भेन्चर सेग्मेन्टमा रोयल इन्फिल्डले नेपालमा हाल स्क्र्याम ४११ बिक्री गर्दै आइरहेको छ। नेपाली बजारमा जसको सुरुवाती मूल्य ६ लाख ६० हजार रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।