काठमाडौं– भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि रोकिएको ‘आइसिबी जिरो टु’ अन्तर्गतको सञ्चार उपकरण र नेभिगेसन अन्तर्गतको काम सुरु भएको छ।
विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी जिरो २ का प्रमुख तथा इन्जिनियर प्रविन न्यौपानेले अहिले अमेरिकन प्राविधिक दक्ष कामदार आएसँगै नेभिगेसन र सञ्चार उपकरण जडानको कामले तिब्रता लिएको बताए। ‘लामो समयदेखि प्राविधिक दक्ष कामदार नआउँदा काम रोकिएको थियो,’ न्यौपानेले भने, ‘अहिले आइसिबी जिरो टु अन्तर्गतको ३ वटा काम मध्ये २ वटा काम सुरु भइसकेको छ। अबको एक महिना भित्र सञ्चार उपकरण तथा नेभिगेसको उपकरण जडानको सम्पन्न हुन्छ।’
आइसिबी जिरो टु अन्तर्गत सञ्चार उपकरण जडान, नेभिगेसन उपकरण जडान र मेट्रोलोजी (मौसम सम्बन्धी) उपकरण जडानको काम रहेको छ। सञ्चार तथा नेभिगेसन उपकरण जडानले तिब्रता लिइसेको छ भने मेट्रोलोजी अन्तर्गतको काम अबको एक साताबाट सुरु हुने न्यौपाने बताउँछन। ‘ मेट्रोलोजी अन्तर्गतको काम गर्न आवश्यक प्राविधिक जनशक्ति ल्याउन गृह मन्त्रालयबाट अनुमति भइसकेको छ,’ न्यौपानेले भने, ‘ अबको केही दिनमा मेट्रोलोजी अन्तर्गतको काम गर्न आवश्यक जनशक्ति अमेरिकाबाट नेपाल आइपुग्छ।’
न्यौपानेका अनुसार आइसिबी जिरो टुअन्तर्गत रहेको कामको उपकरण जडानको काम एक महिना भित्रै सकिन्छ। ‘उपकरण जडानको काम सकिएपनि फ्लाइट क्यालिबेस्रनको काम बाँकी रहन्छ,’ न्यौपानेले भने, ‘उक्त कामको लागि आइसीबी जिरो १ को पनि पनि सकिनुपर्छ।’ आइसिबी जिरो टु अन्तर्गतको कामको जिम्मा एरोनटिकल रेडियो अफ थाइल्यान्डले पाएको थियो।
निर्माण कम्पनीसँग आइसिबी जिरो टुको कामका लागि २०१९ मार्चमा सम्झौता भएको थियो । तर, कोरोनाका कारण काम हुने सकेको थिएन। अहिले कोरोना संक्रमण न्यून भएसँगै प्राविधिक नेपाल ल्याउँदै काम सुरु भएको न्यौपाने बताउँछन। नेभिगेसनको काम भित्र आइएलएस र भिओआर डिएमई हो। आइएलएस भनेको उपकरण सहायतबाट जहाजलाई अवतरण गराउने प्रविधि हो। यसैगरी भिओआर डिएमई भनेको जहाज कति टाढा छ, कतिको दुरीमा छ भने देखाउने प्रविधि हो। यसको लागत ४ मिलियन डलर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।