काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान सुरु गर्ने भएको छ। कार्यक्रमबारे जानकारी दिन मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नगरपालिकाले सो जानकारी दिएको हो।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा काठमाडौँमा आयोजना गर्न लागिएको ‘जाउँ हिँड रेसुङ्गा’ विशेष प्रवर्द्धनात्मक कार्यक्रमको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख खिलध्वज पन्थिले गुल्मी रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियान स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा यही वैशाख २० गते काठमाडौँमा अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भौतिक पूर्वाधारको विकाससंगै रेसुङ्गाको प्रर्वद्धनको लागि प्याकेज निर्माण गर्न आग्रह गरे। उनले सो क्षेत्रको पर्यटन प्रर्वद्धनको लागि बोर्डको साथ सहयोग रहने बताए।
बोर्डका अर्का निर्देशक लक्ष्मण गौतमले रेसुङ्गा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ त्यति प्राकृतिक सम्पदाले पनि भव्य रहेको उल्लेख गर्दै रेसुङ्गाको पर्यटन प्रर्वद्धन गर्दा छिमेकी जिल्लाहरुको समेत पर्यटन प्रर्वद्धन हुने बताए।
रेसुङ्गा भौगोलिक, जैविक र वानस्पतिक विविधताले भरिएको क्षेत्र हो। यो क्षेत्र क्षेत्रमा वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवं भग्नावशेषहरू रहेका छन्। यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवं स्तनधारी जीवहरू पाइने हुनाले जैविक विविधताले पनि यो क्षेत्र अत्यन्तै महत्वपूर्ण रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।