काठमाडौं- अभिनेता रमेश उप्रेती भन्ने गर्छन्, ‘फिल्मी क्षेत्रमा आउनु सम्भवत: मेरो जीवनको सबैभन्दा राम्रो निर्णय थियो।’
‘रगत’ फिल्मबाट नेपाली रजतपटमा प्रवेश गरेका रमेश विद्यार्थीकालमा मीनभवन क्याम्पसमा अखिलको राजनीतिमा सक्रिय थिए। क्याम्पसमा अखिल र नेपाल विद्यार्थी संघबीच हुने भिडन्तमा उनी सधैं अग्रमोर्चामा देखिन्थे। मार्सल आर्टस् र युवा जोसले उनी झगडामा अगाडि सरिहाल्थे। तर, निर्देशक नारायण पुरीसँगको चिनजान उनको करिअरको टर्निङ प्वाइन्ट बन्यो।
त्यतिबेला ‘गड फादर’ नभएकालाई नेपाली फिल्ममा प्रवेश गर्न निकै गाह्रो थियो। रमेश डान्समा पनि पोख्त थिए। त्यसैले पुरीको एकै नजरमा उनी चढे।
पुरी नै उनलाई हौस्याउँथे, ‘यति ह्यान्डसम मान्छे। नाच्न र फाइट हान्न जान्ने मान्छे; फिल्मको हिरो हुनुपर्छ।’
पुरीको उक्साहटबाट फुरुंग परेका रमेशले केही समयभित्रै नेपाली फिल्ममा पाइला त टेके तर पुरीले भने जस्तै हिरोबाट होइन, भिलेनको भूमिकामा। ‘रगत’मा उनले विजयको खलनायकी भूमिकाबाट डेब्यु गरेका थिए। लगत्तै उनले ‘यो मायाले लौ न सतायो’ तथा ‘करोडपति’मा पनि भिलेनकै चरित्र निर्वाह गरे।
‘त्यति बेला फिल्ममा काम गर्न पाउनु नै ठूलो कुरा थियो। फिल्म उद्योगमा आफूले चिनेको कोही थिएन, त्यसैले भिलेनको रोलहरू खेलेँ,' उनले आफ्नो फिल्मीयात्रा सम्झिए।
रमेशलाई भुवन केसीले निर्माण गरेको ‘करोडपति’मा प्रस्ताव कसरी आयो सुरूमा थाहा भएन। पछि थाहा पाए, चर्चित खलनायक महेन्द्र बुढाथोकीले नै उनको नाम सुझाएका रहेछन्।
‘करोडपति फिल्मका लागि महेन्द्रजीलाई प्रस्ताव गरिएको रहेछ। मैले ‘रगत’मा उहाँसँग काम गरिसकेको थिए। त्यसैले उहाँले आफूलाई रोल नसुहाउने भन्दै मेरो सिफारिस गर्नुभएको रहेछ।’
खलनायकबाट नायकको यात्रा
खलनायकका रूपमा रमेशको काम रूचाइयो। राजेश हमाललाई नेपाली उद्योगमा डेब्यु दिएका दीपक रायमाझीले नै रमेशलाई नेपाली रजतपटमा हिरो बनाएका थिए। फिल्म ‘पराईघर’ बाट।
‘मैले उहाँको ‘यो मायाले लौ न सतायो’ फिल्ममा खलनायक भएर काम गरेँ। उहाँले मेरो अभिनय र फाइट मन पराउनुभयो। सुटिङमा उहाँले म नाच्न पनि सक्छु भन्ने थाहा पाउनुभयो,’ उनले खलनायकबाट नायकतर्फको यात्रा सरसर्ती बताए।
उद्योगका नयाँ स्टार
रमेश नेपाली फिल्ममा एउटा पूर्ण प्याकेज जस्तै थिए। उनीसँग लुक्स थियो। फाइट उत्तिकै राम्रो। राम्रो नाच्न सक्थे। अभिनय पनि जानेका थिए। यी चारै गुणको सम्मिश्रणका कारण उनलाई हिरो बन्न मद्दत गर्यो।
‘पराईघर’ पछि उनको हिरोको रूपमा माग बढ्यो। हेर्दाहेर्दै उनी नेपाली फिल्ममा व्यस्त हिरो बन्न पुगे। रमेश हिरो बन्ने प्रक्रियामा रहँदा नेपाली चलचित्रमा राजेश हमाल, धीरेन शाक्य, भुवन केसी, शिव श्रेष्ठ, सुधाम्सु जोशी जस्ता हिरोहरू सक्रिय थिए। तर, रमेशको चक्लेटी अनुहार सबैको नजरमा पर्यो। उनी दर्शकको रोजाइमा परे। बढ्दो क्रेजले रमेशको व्यस्तता ह्वातै बढायो।
रमेशको व्यस्तता यतिसम्म बढ्यो कि उनले छाडेका फिल्मले दीलिप रायमाझीलाई नेपाली फिल्ममा स्थापित गर्न सहयोग गर्यो।
उनले ‘दर्पणछायाँ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘जिन्दगानी’ जस्ता फिल्मलाई समय अभावले नाइँ भनेका थिए।
‘यो मायाको सागर’ फिल्ममा रमेशलाई निर्देशन गरेका अशोक शर्माका अनुसार रमेशको चक्लेटी अनुहार र त्यतिबेला नाच्न, फाइट, अभिनय गर्न जान्ने खुबीका कारण उनी दर्शक र निर्देशकको रोजाइमा परेका हुन्। अभिनेता राजेश हमालपछि सर्वाधिक व्यस्त अभिनेता रमेश नै थिए।
स्क्रिप्ट नपढी फिल्म
दर्शक र निर्देशकको रोजाइमा परेका रमेशले आफूलाई मेन्टेन भने गरेनन्। उनी फिल्मको स्क्रिप्ट नपढी फिल्म गर्थे। उनी आफै पनि स्विकार गर्छन्, ‘म एक लाइन सुन्थेँ। कति फिल्म गीत मन परेर गरेँ, कति ब्यानर र निर्देशकको नाम हेरेर गरेँ। मैले कहिल्यै गम्भीर भएर फिल्म अध्ययन गरेर गरिनँ।’
बिहेमा घरबाटै फरार
भर्खर फिल्ममा प्रवेश गरेका उनलाई परिवारबाट बिहेको चर्को दबाब थियो। विशेषगरी दबाब आमाको थियो। भर्खर २२–२३ वर्षका रमेश बिहे भन्ने शब्दसँगै चिढिएका थिए।
आमाको बढ्दो दबाबका कारण उनी बिहेको लागि तयार त भए तर बिहे गर्ने दिन नजिकिँदै जाँदा उनी घरबाटै भागे।
‘म बाहिर भाडामा बस्न थालेँ। आमाको करले हुन्छ भने पनि म मानसिक रूपले विवाहको लागि तयार थिइनँ। त्यसैले मैले घर छोडेको थिएँ,’ उनी भन्छन्। केटीपक्षले उनैलाई छोरी दिन लामो समय कुरे। पछि उनले किरण राणासँग प्रेम विवाह गरे।
अमेरिका बसाइ
करिअर उत्कर्षमै थियो। एक्कासि उनले अमेरिका जाने निधो गरे। २०६२–६३ को आन्दोलनपछि फिल्म निर्माण कम भइरहेको थियो। यतिबेला विवाह गरिसकेका रमेशमाथि घरायसी जिम्मेवारी बढ्न थालिसकेको थियो। त्यसैले उनी घरपरिवारको सल्लाह स्वीकार गर्दै अमेरिका हानिए। करिब एक दशक अमेरिकामै बिताए।
रमेश भन्छन्, ‘अमेरिका गएपछि थप परिपक्व भए। संघर्षलाई थप गहिराइसँग बुझ्ने मौका पाएँ। आफ्नो चलिरहेको काम छोडेर अमेरिका जाँदा केही दुःख पनि लागेको थियो।' आफू ओरालो लागेर अमेरिका पसेको नभई बाध्यताले नेपाल छाड्नुपरेको बताउँछन् उनी।
अमेरिकामा बसोबास गर्दा उनी आम नेपाली जस्तै काम गर्थे। ‘अमेरिकामा कि तपाईंसँग विशेष स्किल हुनुपर्छ कि राम्रो पढाइ। मसँग दुवै थिएन। मैले ग्रसरी, ग्यास स्टेसन, लिकर सप, ओल्ड एज केयर आदि सबै ठाउँमा काम गरेँ।’
फेरि नेपाल
रमेशलाई लाग्छ, नेपाल बसिरहेको भए ८–१० वटा सिनेमा थपिने थियो होला। त्यो गर्ने समयमा उनले अमेरिकामा आफुलाई आर्थिक रूपले उकासे। करिब ती वर्षअगाडि उनी नेपाल फर्किएका हुन्। लगत्तै उनी फिल्ममा फर्किने अभियानमा लागे। लामो ग्याप भएको हुनाले उनी केही समय नेपाली फिल्मको नयाँ ट्रेन्डलाई बुझन अध्ययन पनि गरे।
सुरुमा उनलाई फिल्म निर्माणमा रुचि थियो। तर, नेपाली फिल्मको बदलिएको ट्रेन्डसँगै उनी तत्कालै फिल्म बनाउने योजनाबाट टाढा बसे। र, ’ब्रासलेट’ फिल्ममार्फत पुनः अभिनयमा फर्किए। फिल्म चलेन। त्यसपश्चात् उनी फिल्म निर्माणमा होम्मिए।
उनले निर्माण गरेको ‘ऐश्वर्य’ रिलिज भइसकेको छ। फिल्मको कथा भयंकर नभए पनि फिल्म बनाउन कुनै कम्प्रोमाइज नगरेको उनी सुनाउँछन्। उनी फिल्मका मुख्य अभिनेता समेत हुन्।
रमेशको आगामी बाटो के होला?
'त्यो त ऐश्वर्यको नतिजाले नै तय गर्नेछ,' उनले संक्षेपमा जवाफ दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।