काठमाडौं– काठमाडौंबाहिरका विमानस्थलबाट अपरेसन बेस स्थापना गरी सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीलाई सरकारले प्रोत्साहन गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप नियन्त्रणका लागि नयाँ व्यवस्था गरेको हो।
_x000D__x000D_
प्राधिकरणले वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५ जारी गरेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए। सञ्चालन बेस तोकिएको विमानस्थलबाट वायुयान सञ्चालन र मर्मत सम्भारका लागि कम्पनीले आवश्यक सुविधासहित उपयुक्त ह्यांगरको व्यवस्था गर्नुपर्ने भएको छ। अहिले नेपालगन्ज, विराटनगर तथा भैरहवा सञ्चालन बेस पाएका जहाज पनि त्रिभुवन अन्तर्राष्ट्रियबाटै सञ्चालन हुँदै आएका छन्।
_x000D__x000D_
प्राधिकरणले पछिल्लो सयम थपिएका जहाजलाई उपत्यकाबाहिरको सञ्चालन बेस आधार रहने गरी अनुमति दिए पनि सबै कम्पनीले मन्त्री तथा नेताको दबाबमा काठमाडौंबाटै सेवा सञ्चालन गर्दै आएका छन्। जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दो छ। यहाँबाट आन्तरिकतर्फ दैनिक ३ सयको हाराहारीमा उडान तथा अवतरण हुने गरेको छ।
_x000D__x000D_
आन्तरिक उडानमा अहिले नेपाल एयरलाइन्स, बुद्ध, यती, श्री, सिम्रिक, सीता, तारा, सौर्य, मकालु लगायतले सेवा प्रदान गर्दै आएका छन्।
_x000D__x000D_
काठमाडौंबाहिर अपरेसन बेस स्थापना गरी सेवा सञ्चालन गर्न चाहने वायुसेवा कम्पनीलाई ह्यांगर निर्माणका लागि ५ वर्षसम्म निःशुल्क जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको प्राधिकरणका उपमहानिर्देशक पोखरेलको भनाइ छ। 'ह्यांगर सुविधा नहुने वायुसेवाले अन्य वायुसेवासँग सम्झौता वा करारबाट यस्तो व्यवस्था गर्नुपर्ने हुन्छ,' उनले भने।
_x000D__x000D_
नयाँ जारी भएको नीतिमा रात्रि उडानका वायुयानलाई अवतरण, पार्किङ, सुरक्षा शुल्कमा लाग्दै आएको थप अतिरिक्त शुल्कमा समेत प्राधिकरणले छुट प्रदान गर्ने भएको छ। अतिरिक्त समयमा विमानस्थल सञ्चालन शुल्क तथा मौसमी सेवा शुल्कमा पनि छुट हुने पोखरेलले बताए।
_x000D__x000D_
आन्तरिक उडानका वायुसेवा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम पहाडी क्षेत्रका विमानस्थलमा अनिवार्य नियमित उडान समेत सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।