काठमाडौं– रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित जादवलाल दासका दुई छोरीमाथि एसिड आक्रमण भएको एक हप्ता भइसकेको छ। जादवलालका दुई छोरी सम्झना र सुस्मितामाथि गत भदौ २६ गते राति सवा १२ बजे एसिड आक्रमण भएको थियो।
आक्रमण गरेको आशंकामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ। उनी बिरामी कुरुवाको लागि काठमाडौं समेत आएका थिए।
यसरी भयो एसिड आक्रमण
जादवलालको बनमारा झारले बारेको सानो घर छ। घर भित्रको एउटा बत्ती केही दिनदेखि बिग्रिएको छ। त्यसयता अर्को एउटा बत्तीले उनले काम चलाउँदै आएका थिए। उक्त बल्ब घर बाहिरबाट सजिलै निकाल्न सकिन्छ। भदौ २६ गते राति सवा १२ बजे बलिरहेको बत्ती झ्पाप्प निभ्छ। त्यति बेलै सँगै सुतिरहेका दिदीबहिनी सम्झना र सुस्मितामाथि एसिड बर्सिन्छ। कसले कहाँबाट एसिड आक्रमण गर्यो कसैले पत्तो पाँउदैनन्।
सम्झना र सुस्मिता सुत्ने ठाउँको समेत जानकारी भएको व्यक्तिले बलिरहेको बल्बलाई झिकेर एसिड आक्रमण गरेको स्पष्ट छ। तर, एसिड राखिएको भाँडो भने अहिलेसम्म फेला पर्न सकेको छैन। घटनापछि छरछिमेकका व्यक्ति भेला हुन्छन्। सबैभन्दा पहिला छिमेकी रामबाबु पासवान घटनास्थल पुग्छन्। उनैलाई अहिले प्रहरीले पक्राउ गरेको छ।
‘एम्बुलेन्स आएन, ४ जनालाई एउटै स्कुटरमा हालेर अस्पताल पुर्याएँ’
बत्ती निभेसँगै छोरीहरु चिच्याएपछि आमाले श्रीमान जादवलाललाई फोन गरेर बोलाएकी थिइन्। जादवलालले घर नजिकै 'पुल हाउस' सञ्चालन गरेका छन्। पुल हाउसबाट उनी दौडिएर घर पुगे। छोरी रुनेक्रम रोकिएको थिएन। मात्र एसिडको तापलाई धाराको चिसो पानीले केही मात्रामा मात्रै राहत दिएको थियो।
जादवलालले तुरुन्त एम्बुलेन्सलाई फोन गरे। ‘एम्बुलेन्स आएन। छोरीहरु छट्पटाइरहेका थिए। साथीको स्कुटर मागेर श्रीमती र दुई छोरीलाई एउटै स्कुटरमा कोचेर अस्पताल पुर्याएँ।’
अस्पतालले अवस्था जटिल भन्दै काठमाडौं लैजान सल्लाह दियो। घटना भएकै राति उनले छोरीलाई काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याए। अहिले उनीहरुको उपचार भइरहेको छ।
यसरी पक्राउ परे बिरामी कुरुवा पासवान
एसिड आक्रमण भएपछि परिवारका सदस्य चिच्याएका थिए। त्यसपछि घटनास्थलमा सुरुमा उनै पासवान पुगेका थिए। छिमेकी समेत रहेका पासवान ‘घर बाहिरबाटै के भयो भन्दै कराउँदै घटनास्थल पुगेका’ थिए। जम्मा भएका अन्य व्यक्तिले के भयो भनिरहेका बेला पासवानले नै यो त एसिड हुनसक्छ भनेको सम्झनाका बुवा जादवलालले नेपाल लाइभलाई सुनाए। त्यसेबला नै परिवारले उनीमाथि आशंका गरिसकेका थिए।
यो सबै कुरा प्रहरीले थाहा पाएपछि पासवानमाथि निगरानी बढाएको थियो। पासवानलाई थाहै नदिई सादा पोशाकमा प्रहरी काठमाडौं आएका थिए। अस्पतालमा बस्दा पासवानले गरेका गतिविधि नजिकबाट प्रहरीले नियाली रहेको थियो। प्रहरीकै सल्लाहअनुसार जादवलालले आइतबार पासवानलाई कल डिटेलबाट प्रहरीले एसिड आक्रमण गर्ने व्यक्ति फेला पर्ने भन्दै सुनाएका थिए।
जादवलालको कुरा सुनेपछि पासवानले कालो अनुहार पारे। त्यसको केही समयपछि जादवलालले पासवानको मोबाइल फोन मागे। पासवानले मोबाइल हराएको बताए। त्यसपछि झनै शंका भएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अन्दाजी ५० वर्षीय पासवानको जादवलालकी जेठी छोरी सम्झनासँग फोनमा कुराकानी हुने गरेको समेत प्रहरीले पत्ता लगाएको छ। एसिड आक्रमण भएपछि घटनास्थल पुगेको प्रहरीले सम्झनाको मोबाइल बरामद गरेको थियो। उक्त मोबाइलबाट पनि धेरै कुरा खुलेकाले पासवानलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।
बिरामी कुर्न आएका पासवानलाई प्रहरीले कीर्तिपुर अस्पतालबाटै पक्राउ गरेर आजै रौतहट लगेको छ। यद्यपी, उनी माथि लागेको आरोप भने पुष्टि हुन बाँकी रहेको रौतहटका एसपी खिलराज ढकालले बताए।
चरम पीडामा छे छोरी–बाबु जादवलाल
जादवलालकी कान्छी छोरी सुस्मिताकोे दायाँ हात डढेको छ। उनी समान्य बिरामी छिन्। जेठी छोरी सम्झना भने आइसियुको ५ नम्बर बेडमा छट्पटाइरहेकी छिन्। ‘कम्मर भन्दा माथिको सबैजसो भाग डढेको छ। न सुत्न मिल्छ, न बस्न मिल्छ। चरम पीडामा छट्पटाइरहेकी छे मेरी छोरी’, जादवलालले घोसेमुन्टो लगाएर पीडा सुनाए, ‘उपचार गर्न खर्च पनि छैन।’
उनको उपचारमा डा सुरेन्द्र बस्नेत खटिएका छन्। उनका अनुसार अवस्था ‘क्रिटिकल’ छ। ‘शरीरको ६५ प्रतिशत भाग जलेको छ। यो भनेको एकदमै क्रिटिकल अवस्था हो। अहिल्यै केही भन्नसक्ने अवस्था छैन’, उनले सुनाए।
नाजुक आर्थिक अवस्था, उपचारमा समस्या
जादवलाल आइसियु अगाडिको कुरुवा बस्ने बेन्चमा बसेर भान्जा नाता पर्ने व्यक्तिलाई सोध्दै थिए, ‘बैंकमा खाता खोलियो भने सहयोग आउलानी, हैन?, कुन बैंकमा खोल्ने हो, के–के चाहिन्छ?’, जादुलालका यिनै प्रश्नले नै प्रष्ट्याएको थियो दास परिवारको आर्थिक अवस्था।
जादवलालको सम्पत्तिको नाममा चन्द्रपुर नगरपालिका–६ मा सानो बनमारा झारले बारेको छाप्रो र त्यसैको वरपरको थारै जग्गा मात्र छ। भएको जग्गा पनि बन्धकी राखेर ऋण लिएका छन् उनले। २ वर्षमा तिर्ने गरी ४ लाख ऋण लिएको पनि ६ महिना भइसकेको छ। ऋण लिएर सञ्चालन गरिएको ‘पुल हाउस’ पनि एसिड कान्डपछि बन्द छ।
उता बन्धकीको ऋण त छदै छ, अहिले एसिड आक्रमणबाट घाइते भएकी छोरीको उपचार कसरी गर्ने भन्ने नै समस्या छ उनलाई। ‘अहिलेसम्म २ लाख ५० हजार रुपैयाँ लागिसक्यो। अझै कति लाग्छ थाहा छैन। अहिलेसम्म साथीभाइ, आफन्तको सहयोगमा चलेको, अब छोरीको उपचार कसरी गराउनु?’, जादवलालले आफैंलाई सोधिएको प्रश्नको जवाफमा पनि प्रश्नमै दिए। सहयोगकै भरमा छोरी बचाउने आशामा छन् उनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।