काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाइन कारोबार प्रणालीको यूजर एसेप्टेन्स टेस्टिङ (युएटी) को पहिलो चरणको काम पुरा गरेर मोक ट्रेडिङ परीक्षण भोलिबाट सुरु गर्ने भएको छ।
नेप्सेले पूर्ण अनलाइन सञ्चालनमा ल्याउनुपूर्व परीक्षणका रुपमा मक ट्रेडिङ गर्न लागेको हो।
मंगलबारदेखि लगानीकर्ताले दलाल व्यवसायी मार्फत अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिन सक्ने नेप्सेले जनाएको छ। तर, लगानीकर्ता आफैँले खरिद बिक्री आदेश भने युजर एसेप्टेन्स टेस्टिङ (युएटी) पछि मात्रै दिन पाउने एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेजका सागर उपाध्ययले बताए। सफ्टवेयरको अन्तिम परीक्षण सकिएपछि मात्रै लगानीकर्ताले कारोबारमा प्रत्यक्ष संलग्न हुन पाउनेछन्।
सेयरको अनलाइन कारोबारको लागि अझै २ महिना कुर्नुपर्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिङ साउदले बताए। भने, ‘अनलाइन ट्रेडिङ सुरु हुन्छ कि हुँदैन भन्ने दुविधामा नरहनुहोस्, अबको २ महिना पछि सेयरको अनलाइन ट्रेडिङ लाइभ सुरु हुन्छ।’ साथै अनलाइन ट्रेडिङको लागि नेप्सेले डाटा सेन्टर बनाई रहेको पनि साउदले बताए। अबको दुई/तीन वर्ष भित्र डाटा सेन्टर सञ्चालनमा आउने उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।