दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको विद्युतमा स्थानीयबासीलाई शेयर दिइने भएको छ।
सोलार फर्म प्रालिले स्थानीयबासीलाई रु २० करोडको शेयर वितरण गर्ने तयारी गरेको छ। कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयबासीका साथै गैरआवासीय नेपालीको समेत शेयर रहने बताए।
गैरआवासीय नेपालीलाई रु २० करोड तथा संस्थापकलाई १० करोडको शेयर उपलब्ध गराइने उनले जानकारी दिए। करीब ५० करोड लागतको पाँच मेगावाट क्षमताको उक्त आयोजनामा विद्युत् उत्पादन गर्न २३ हजार प्यानल राखिनेछ।
आयोजनाबाट वार्षिक ९० लाख युनिट विद्युत् उत्पादन हुने आले बताउँछन्। उक्त विद्युत् खरीदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको छ।
कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले आगामी ०७६ साल भदौ महिनाभित्र विद्युत् उत्पादन गर्ने योजना रहेको बताए। ‘छिट्टै काम सुरु हुन्छ,’ उनले भने।
सोलारबाट उत्पादित विद्युतलाई ग्रिड प्रणालीबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ। सो कम्पनीले भानुभक्त क्याम्पसको सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएको छ। कम्पनीले क्याम्पसलाई वार्षिक १३ लाख भाडा तिर्नेछ।
सोलार विद्युत् खरीदका लागि प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत् खरिद गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।