धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने अन्तिम समयसम्म एमालेले समर्थन गर्ने वा नगर्ने अन्योल चिरेर दाबी पेस गरेका दीर्घ सोडारीमाथि अर्को संकट उत्पन्न भएको छ।
बिहीबार सोडारीले माओवादी केन्द्र, एमाले, नाउपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद ताराप्रसाद जोशीले समर्थन गरेका थिए। लगत्तै नाउपाका एक पक्षले उनलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्। पत्र बुझाउनका लागि नाउपाका सांसदहरू प्रदेश प्रमुख कार्यालमै पुगेका थिए।
सोडारीले बुझाएको दाबी पत्रमा नाउपाको तर्फबाट कैलाश चौधरीले हस्ताक्षर गरेका थिए। उनले संसदीय दलको नेताको रुपमा हस्ताक्षर गरेका हुन्। उनले नाउपाको सात जना रहेको पनि त्यहीँ खुलाएका छन्। तर, प्रदेश प्रमुखलाई बुझाएको पत्रमा घनश्याम चौधरीले आफू संसदीय दलको नेता भएको स्मरण गराएका छन्।
उनले कैलाशप्रति संकेत गर्दै अन्य कसैबाट पत्रचार भएको छ भने त्यो किर्ते भएको बताएका छन्।
घनश्यामले कैलाश चौधरी पक्षले दिएको समर्थनलाई गैरसंवैधानिक, गैरकानुनी र संसदीय व्यवस्थाको मर्यादाको विपरीत भएको दाबी गरेका छन्। उनले अर्को पक्षले सोडारीलाई दिएको समर्थन अमान्य भएको जानकारी गराएका छन्।
पत्रमा खुसीराम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी, लक्ष्मणकिशोर चौधरी र घनश्याम चौधरीको पनि हस्ताक्षर छ।
नाउपामा जारी विवादका बीच केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले आफू निकट कैलाश चौधरीलाई संसदीय दलको नेता चयन गरेकी थिइन्। प्रदेश सभामा नाउपाका ७ सांसद छन्। जसमध्ये श्रेष्ठको पक्षमा दुई जना मात्रै छन्।
बिहीबार प्रदेश प्रमुखलाई पत्र बुझाउने पाँचै जना नाउपाका संरक्षक रेशम चौधरी पक्षका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।