डडेल्धुरा– सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव बुधबारदेखि सुरु भएको छ। विगतका वषझैं यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले ‘राष्ट्रिय गौरा महोत्सव २०७५’ आयोजना गरेको हो।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले बुधबार महोत्सवको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै भट्टले सुदूरपश्चिमको महान पर्वको रुपमा रहेको गौराको जर्गेना गर्नु सबैको दायित्व भएको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गौरा पर्व प्रदेश ७ को धार्मिक तथा सांस्कृतिक धरोहरको रुपमा रहेको बताए। गौरा पर्वले समाजमा सामाजिक सद्भाव र एकता कामय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो।
यस्तै कार्यक्रम बोल्दै अमरगढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख खेमराज पाठकले यस्ता किसिमका महोत्सवले गर्दा संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताए।
२३ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा प्रतिस्पर्धात्मक गौरानाच, वालोनाच, चैत धुमारी, फाग, घुइचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।