काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई तेस्रो पटक सर्वाेच्च उपस्थित गराउने आदेश गरेको छ।
सर्वोच्चले प्रकाण्डका छोरा वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा पहिलो सुनुवाइ गर्दै २४ घन्टाभित्र पेश गर्न आदेश गरेको हो।
यसअघि दुई पटक सर्वोच्चले यस्तै आदेश गरेको थियो। पहिलो पटक सर्वोच्चले ४८ घन्टाभित्र प्रकाण्डलाई पेश गर्न आदेश गरेको थियो।
प्रकाउ पर्ने र छुट्ने श्रृखला चलिरहेको समयमा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको इजलाशले बाटोको म्याद बाहेक २४ घन्टाभित्र उपस्थित गराउन भनेको हो। प्रकाण्डका छोरा वीरेन्द्रले शुक्रबार तेस्रो निवेदन दर्ता गरेका थिए।
दुई पटकसम्म सर्वोच्चले रिहा गर्न आदेश दिने तर प्रहरीले अदालतबाट बाहिरिए लगत्तै पक्राउ गर्दै आएको छ। हाल उनी नुवाकोट प्रहरी अनुसन्धानमा रहेका छन्। स्काइभेटरमा आगजनी गरेको आरोपमा उनलाई अनुसन्धान गर्न नुवाकोट लगिएको हो।
बिहीबार मात्र सर्वोच्चले उनलाई पक्राउ गर्दा हालै लागू भएको मुलुकी संहिताका व्यवस्थाहरु ख्याल गर्न नेपाल प्रहरी र सरकारलाई आग्रह गरेको थियो। मुलुकी फौजदारी संहिताको कानुनी व्यवस्था समेत पालना गरी उचित कारण र आधार बिना पक्राउ गर्ने कार्य नगर्न समेत प्रहरीलाई सर्वोच्चको आदेशमा भनेको थियो।
मुलुकी फौजदारी संहिता लागू भएको दिनमा उनलाई अदालतले गैरकानुनी पक्राउ गरेको भनी आदेश जारी गरेको अवस्था पुन सोही कार्य गरेको भन्दै मुलुकी संहिताको व्यवस्था ख्याल गर्न आदेश गरेको थियो। पहिलो पटक भदौ १ गते उनी पक्राउ परि रिहा भएका थिए।
न्यायाधीशद्वय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई बन्दीप्रत्यक्षीकरणको निवेदनमा फैसला गर्दै रिहा गर्न आदेश गरेको थियो।
क्रसरमा आगजनी गरेको अभियोगमा काभ्रे सदरमुकाम धुलिखेल प्रहरीले उनलाई हिरासतमा राखेको थियो।
भदौ १ गते सर्वाेच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो। साउन २२ गते काठमाडौंको चोभारबाट सिआइबीको टोलीले उनलाई गिरफ्तार गरेको थियो। लगत्तै नरेन्द्रबहादुर विश्वकर्माले सर्वोच्चमा निवेदन दर्ता गरेपछि उनलाई रिहा गर्न आदेश भएको थियो।
तर उनलाई काभ्रेका एउटा घटनासँग जोडेर राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकसँगै भएको बेला गाडीबाटै काठमाडौं प्रहरीले गिरफ्तार गरेको थियो। सँगै गिरफ्तार गरिएका हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठ भने सोही दिन रिहा भएका थिए। त्यसैगरी उक्त इजलाशले नेकपाका कार्यकर्ता दोलखाका लोकेन्द्र दर्नाल ‘प्रमेश’ र राजनप्रसाद लम्साललाई पनि रिहा गर्न आदेश गरेको छ। दर्नाललाई गएको साउन २६ गते ललितपुरको सानेपा डेराबाट गिरफ्तार गरिएको थियो भने लम्साललाई काठमाडौंबाट गिरफ्तार गरिएको थियो।
३ दिन थुनामा राख्न अनुमति
जिल्ला अदालत नुवाकोटले प्रकाण्डलाई अनुसन्धानका लागि ३ दिन थुनामा राख्न अनुमति दिएको छ। आइतबार प्रहरीले स्काइभेटर आगजनी गरेको मुद्दामा अनुसन्धानका लागि एक साताको समय माग गरेको थियो। तर अदालतले तीन दिनको समय उपलब्ध गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।