भद्रपुर– झापाको गौरीगञ्ज गाउँपालिका–५ को वडा कार्यालय बिहीबार उद्घाटन गरिएको छ।
एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन्। वडा कार्यालय सम्बन्धित वडामै स्थापना हुनुपर्ने नेपाल सरकारको नीति भए पनि स्थानीय तहको चुनाव भएको करिब एक वर्षपछि मात्र गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर ५ ले सम्बन्धित वडामा नै कार्यालय स्थापना गर्न सकेको हो। यसअघि सो वडाले वडा नम्बर ६ कै कार्यालयबाट सबै काम गर्दै आएको थियो।
५ हजारभन्दा बढी जनसंख्या भएको वडामा कार्यालय स्थापना भएपछि वडावासीले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराइको सिफारिस, जग्गाको चार किल्ला सिफारिस, नागरिकता सिफारिस, घरधुरी कर, घर, बाटो सिफारिस, मालपोत दस्तुर, सम्पत्ति मूल्यांकनको अंग्रेजी पत्र दिनेलगायतका सेवा पाउने छन्।
राजवंशी, ताजपुरिया, गन्गाई तथा ऋषिदेव समुदायका मानिसको बाहुल्यता रहेको वडामा अब घरगाउँमै सेवा लिन सकिने वडाध्यक्ष विजयसिंह गन्गाईले बताए। ६ वटा वडा भएको गौरीगञ्ज गाउँपालिकामा अन्य वडा कार्यालय भने यसअघि नै सम्बन्धित वडामै स्थानान्तरण गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।