जुम्ला– डा गोविन्द केसीलाई ‘इमोस्नल ब्ल्याकमेल’ गर्न प्रहरीको मृत्यु भएको हल्ला फैलाइएको खुलेको छ। अस्पतालको भीड नियन्त्रण गरी डा केसीलाई काठमाडौं पठाउनका लागि झडपमा घाइते भएका प्रहरी जवानको मृत्यु भएको भनेर हल्ला गरिएको थियो।
जुम्लाका प्रहरी प्रमुख डा तपन दाहालले भीड नियन्त्रणको उद्देश्यले आफूहरुले नै प्रहरीको मृत्यु भएको हल्ला फैलाएको बताए। माइकिङ मार्फत प्रहरीले प्रहरी जवानको मृत्यु भइसकेको र अब आफूहरु फायरिङ गर्न बाध्य हुने भन्दै प्रचार गरेको थियो।
त्यस्तै, प्रहरीले डा केसी र उनका सहयोगीहरुलाई पनि झडपमा प्रहरीको मृत्यु भएको बताएको थियो। सोही आधारमा डा केसी थप झडप नहोस् भनेर काठमाडौं जान तयार भएका थिए। उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।
झडपमा घाइते भएका प्रहरी जवानको उपचार भइरहेको डिएसपी दाहालले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र स्थानीयले डा केसीलाई काठमाडौं लैजानबाट रोक्ने क्रममा झडप भएको थियो।
प्रहरी र अस्पताल स्रोतबाट प्राप्त सूचना अनुसार यसअघि गलत समाचार प्रकाशित भएकोमा पाठक तथा सम्बन्धित पक्षसँग गम्भीर क्षमायाचना गर्दछौं – सम्पादक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।