काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले छोटो अवधिमै महत्त्वपूर्ण कूटनीतिक सफलता प्राप्त गरेको दाबी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको दुई छिमेकको भ्रमणमा भएका सम्झौताहरु तीव्र गतिमा कार्यान्वयनतर्फ अघि बढेको उनको भनाइ छ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चीन र भारतसँग भएका सम्झौता कार्यान्वयनको प्रगति विवरण सुनाए।
‘नेपाल र भारतबीच प्रतिबद्धता र कार्यान्वयनमा जुन ग्याप थियो, त्यो अब हटेको छ’, उनले भने, ‘इपिजीको प्रतिवेदनले २१औं शताब्दी सुहाउँदो सम्बन्धका लागि नीतिगत निर्देशन गर्नेछ भन्नेमा विश्वस्त छौं।’
दुई देशबीच सचिवस्तरीय बैठक बुधबारदेखि सुरु हने र परराष्ट्रमन्त्रीस्तरीय वार्ताको पनि तयारी भइरहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका तीन वटै सम्झौता कार्यान्वयनमा अगाडि बढिसकेको ज्ञवालीको भनाइ छ।
मन्त्री ज्ञवालीका अनुसार, कृषि क्षेत्रको सम्झौता कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको छ। अर्गानिक फार्म, माटोको स्वास्थ्य परीक्षण, रासायनिक मलको सहज आयात तथा कृषि क्षेत्रको अनुसन्धान गरी ४ वटा क्षेत्रमा ‘एमओयू’ गर्ने तयारी भइरहेको छ।
रक्सौल–काठमाडौं रेल्वेको ‘एमओयू’को तयारी भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए। जलमार्ग सम्बन्धमा दुई देशबीचको वार्ता सोमबार मात्र सकिएको उल्लेख गर्दै उनले नारायणी नदीमा ३ सय मेट्रिक टन क्षमताको पानीजहाज चल्ने उनले जानकारी दिए।
भारतले नेपाललाई दिने थप ५ हवाई रुट कार्यान्वयनको चरणमा रहेको भन्दै उनले आगामी अगस्टमा दुई देशबीच नयाँ वाणिज्य सन्धि हुन लागेको बताए।
‘नेपाल र भारतबीच विश्वास र सहयोगको नयाँ च्याप्टर सुरु भएको छ’, ज्ञवालीले भने।
चीनसँग यही महिना प्रोटोकलमा हस्ताक्षर हुने
चीनसँग जुलाई महिनाभित्रै यातायात पारवहन प्रोटोकलमा हस्ताक्षर हुने भएको छ । १० र ११ जुलाईमा चीनमा भएको द्विपक्षीय वार्तापछि थप केही प्राविधिक विषय टुंगिन बाँकी रहेकाले जुलाईमै काठमाडौंमा अर्काे वार्ता हुने भएको छ। सोही वार्तामा प्रोटोकलमा हस्ताक्षर हुने मन्त्री ज्ञवालीको भनाइ छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा यस सम्बन्धी समझदारी भएको थियो।
बिमस्टेक सम्मेलनको तयारी तीव्र
सरकारले बिमस्टेक (बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीको प्रयास) सम्मेलनको तयारी तीव्र बनाएको छ। आगामी भदौ १४ र १५ मा हुने चौथो सम्मेलनका लागि विभिन्न तयारी समिति गठन भएको छ।
परराष्ट्र मन्त्री ज्ञवालीले नेपालमा संविधान जारी भइसकेपछि यो निकै महत्त्वपूर्ण बहुपक्षीय भेटघाट हुने र नेपालका लागि यो महत्वपूर्ण रहेको बताए।
‘बिमस्टेक आसियान र सार्कबीचको पुल बन्छ जस्तो छ’, उनले भने, ‘अन्तरदेशीय सञ्जाल विस्तारको दृष्टिकोणले यो हाम्रो लागि निकै महत्त्वपूर्ण छ।’
नेपाल हाल बिमस्टेकको अध्यक्ष राष्ट्र हो। बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य छन्। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।