काठमाडौं– सिन्धुलीका प्रहरी प्रमुख एसपी रामेश्वर प्रसाद यादबले बिपी राजमार्गमा अवैध रुपमा चल्ने सवारी साधनसँग राजमार्गमै पैसा उठाउने गरेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा उनले आफु निकट प्रहरी राजमार्गमा खटाएर गाडीबाट झोलामै पैसा बटुल्ने गरेको तथ्य भेटिएको हो।
दुर्घटनाको जोखिमका कारण सरकारले बिपी राजमार्गमा ठूला सवारी साधन चलाउन नदिने निर्णय गरेको छ। तर,प्रहरीको मिलेमतोमा राजमार्गमा ठूला सवारी साधन सञ्चालन भइरहेको छ। राजमार्गमा ठूला सवारी साधन सञ्चालन गर्दा हरेक पटक उनीहरुले सडकमै प्रहरीलाई पैसा बुझाउने गरेका छन्। यातायात व्यवसायीहरुको एसपी यादबसँगकै सेटिङअनुसार यसरी पैसाको लेनदेन हुने गरेको हो।
सोही सूचनाका आधारमा प्रहरी महानिरीक्षकको सचिवालयबाट छानबिनका लागि सिन्धुलीमा टोली खटाइएको थियो। छानबिनको क्रममा गाडीसँग पैसा उठाउन राजमार्गमा झोलासहित प्रहरी खटाएको प्रमाण टोलीले फेला पारेको छ।
छानबिनको क्रममा एसपी यादबले राजमार्गमा पैसा उठाउनेदेखि मुद्दाको अनुसन्धानमा समेत चलखेल गरेका प्रमाणहरु भेटिएको छ। स्रोतका अनुसार स्थलगत रुपमा गएको टोलीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई केही दिनअघि प्रतिवेदन बुझाइसकेको छ।
एसपी यादबको २ महिनाअघि मात्र सिन्धुलीमा सरुवा भएको थियो। विवादास्पद पृष्ठभुमी भएका प्रहरी अधिकृतलाई जिल्ला इन्चार्ज बनाएर सरुवा गरिएको भन्दै आलोचना भएको थियो। यादब यसअघि लागूऔषध कारोबारीसँग घुस लिदा निलम्बनमा परी विभागीय कारबाही भोगेका प्रहरी अधिकृत हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहँदा उनी निलम्बनमा परेका थिए।
स्रोतका अनुसार मुख्यालयले उनलाई सरुवाको तयारी गरेको छ। तर, यादबले आफ्ना सरुवा रोक्न नेताहरुमार्फत दबाब दिइरहेका छन्।
२ महिनाअघि भएको एसपीको सरुवामा खराब आचरण भएका प्रहरी अधिकृतहरुलाई जिल्ला इन्चार्जमा पठाइएको भन्दै प्रहरी नेतृत्व विवादमा परेको थियो। जसमध्ये मकवानपुरमा पठाइएका लोकेन्द्र श्रेष्ठलाई ६ हप्तामा नै फिर्ता बोलाइएको थियो। त्यस्तै कास्की, चितवन लगायत जिल्लामा पनि विगतमा घुसकाण्डमा कारबाही भोगेकालाई पठाइएको भन्दै आलोचना भएको हो। ‘खराब व्यक्तिलाई जिल्ला इन्चार्जमा पठाएर राम्रो नजिता आउन सक्दैन भन्ने प्रष्ट भइसकेको छ,’ मुख्यालयका एक उच्च प्रहरी अधिकारी भन्छन्,‘यसको दोष प्रहरी नेतृत्वमाथि जान्छ।’
आइजिपी सर्वेन्द्र खनालले जिल्ला इन्चार्जमा पठाएकामध्ये धेरै जसो नेताहरुको सिफारिसमा सरुवा गरिएको थियो।
सम्बन्धित समाचारःलागूऔषध र सवारी ज्यानका अभियुक्त छुटाइदिने भन्दै इन्सपेक्टरद्वारा घुस असुली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।