काठमाडौं– हिरासतमा रहेका अभियुक्त छुटाइदिने भन्दै नेपाल प्रहरीका एक इन्सपेक्टरले तीन जनासँग घुस लिएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी निरीक्षक लालबाबु प्रसाद साहले घुस लिएका हुन्। इन्सपेक्टर साहलाई निलम्बन गरी प्रहरी प्रधान कार्यालयले कारबाही अघि बढाएको छ।
साह जिल्ला प्रहरी कार्यालय नुवाकोटको मुद्दा शाखामा कार्यरत थिए। पक्राउ परेका अभियुक्तहरुसँग उनले घुस लिएका हुन्। आन्तरीक छानबिनकै क्रममा उनले आर्थिक अनियमितता गरेहेका खुलेपछि निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षत्रीले बताए। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार साहलाई निलम्बन गरेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी बसन्त कुँवरका अनुसार साहले तीन वटा मुद्दामा घुस खाएका थिए। सवारीसम्बन्धि मुद्दामा अभियुक्तलाई छुटाइदिने भन्दै ३० हजार रुपैयाँ लिएका थिए। त्यस्तै लागूऔषधसहित पक्राउ परेका दुई अभियुक्तसँग पनि उनले घुस लिएको खुलेको छ। एक अभियुक्तसँग ७० तथा अर्कासँग ९० हजार रुपैयाँ लिएका थिए। घुस लिएको सूचना पाएपछि आफुले मुख्यालयमा जानकारी गराई कारबाही प्रक्रिया अघि बढाएको एसपी कुँवरले बताए।
घुस असुलीका अन्य उजुरीहरु उपर पनि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।