काठमाडौं- शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएका राजनीतिक नियुक्ति वर्तमान सरकारले खारेज गरेपछि कांग्रेसले सरकारी निर्णयको विरोध गरेको छ।
प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सडक र सदनमा सरकारी निर्णयविरुद्ध उत्रने बताएको हो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना नियमित कार्यक्रम अनुसार नै पूर्व सरकारले विभिन्न पदमा नियुक्ति गरेको बताए। '
अघिल्लो सरकारले गरेका निर्णय उल्ट्याउँदै जाने हो भने मुलुक कसरी चल्न सक्छ?' उनले सरकारलाई प्रश्न गरे। पौडेलले सरकारले मुर्खतापूर्ण काम गरेको आरोप लगाउँदै सरकारी रवैयाले देशको उन्नति हुन नसक्ने प्रतिक्रिया दिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले दुई तिहाइको दम्भ देखाएको बताएका छन्। सरकारको पछिल्लो निर्णयले राजनीतिक द्वन्द्वका लागि निमन्त्रणा दिएको उनको भनाइ छ।
पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले सरकारको पछिल्लो निर्णयको विरुद्धमा सरकार र सडकमा प्रतिवाद गर्ने बताए। बहुदलीय परम्परा अनुसार नै पूर्व सरकारले संवैधानिक कार्य गरेको विश्वकर्माले बताए।
देउवा नेतृत्वको सरकारको सिफारिसमा नियुक्ति पाएका सातै प्रदेशका प्रदेश प्रमुखहरुको नियुक्ति पनि सरकारले खारेज गरेपछि कांग्रेस आक्रामक प्रतिवादमा उत्रिएको हो। यसखाले सरकारी निर्णय अराजनीतिक र असंवैधानिक भएको कांग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन्। निर्वाचन आचारसंहिता लागू भएपछि भएका राजनीतिक नियुक्तिहरु खारेज गर्ने बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।
यसैबीच कांग्रेसले पत्रकार सम्मेलन गरी आजै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।
सम्बन्धित : चलचित्र विकास बोर्डकी निकितादेखि पुनर्निर्माण प्राधिकरणका सिइओ भुसालसम्मका नियुक्ति खारेज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।