काठमाडौं- डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै सबैभन्दा कमजोर भएको छ। मंगलबारको विनियम दर अनुसार एक अमेरिकी डलर खरिद गर्न एक सय १० रुपैयाँ ३८ पैसा खर्चिनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको खरिद दर एक सय ९ रुपैयाँ ७८ पैसा र बिक्री दर एक सय १० रुपैयाँ ३८ पैसा निर्धारण गरेको छ। राष्ट्र बैंकका विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार यो हालसम्मकै उच्च हो।
पछिल्लो एक महिनायता डलरको भाउमा वृद्धि हुँदै आएको छ। उक्त मूल्यमा वृद्धि हुँदै गएर डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सन् २०१६ को भाउलाई माथ गर्दै डलरको भाउ उच्चतम बिन्दुमा पुगेको हो। यो बेला एक डलर बराबर ११० रुपैयाँ २८ पैसा पुगेको थियो।
किन बढ्यो डलरको भाउ?
नेपालमा डलरको मूल्य बढ्नुसँग भारतीय रुपैयाँ (भारु) को प्रत्यक्ष सम्बन्ध रहन्छ। नेपालले भारतसँग स्थिर विनिमय कायम गरेकाले डलरसँग भारुको सन्तुलनले नेपाली रुपैयाँको डलरसँगको विनिमय कायम गर्छ।
पछिल्लो समय डलरसँग भारु कमजोर बन्दै गएकाले नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो। ‘अमेरिकी डलरसँग भारु अवमूल्यन भएकाले नेपालमा त्यसको प्रभाव परेको हो,’ नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा भन्छन्।
पछिल्लो समय पुनः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको बढोत्तरी यसको मुख्य कारण हो। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९.४१ अमेरिकी डलर छ।
भारतले बर्सेनि ठूलो परिमाणमा पेट्रोलियम खरिद गर्छ। त्यसका लागि डलर खर्चिनुपर्दा त्यसको प्रभाव विनियम दरमा परेको हो।
त्यस्तै, पछिल्लो समय समग्रमा भारतको निर्यात घटेको छ। निर्यात घटेर आयात बढ्दा डलर बाहिरिने हुँदा भारु कमजोर बनेको हो।
यसैगरी पछिल्लो समय अमेरिकाले भारत लगायत अन्य मुलुकलाई इरानसँग तेल खरिद नगर्न उर्दी जारी गरेको छ। यसले भारतसँगको अमेरिकी सम्बन्ध खटपट हुँदा त्यसको प्रभाव भारतमा अमेरिकी लगानीसँग परेको छ। अहिले भारतमा अमेरिकी लगानीकर्ताको मनोबल गिरेका कारण पनि डलरको सञ्चय घटेको छ।
अमेरिकी अर्थतन्त्र सबल हुँदै गएको संकेतले पनि पछिल्लो समय अन्य मुलुकमा रहेका अमेरिकी लगानीकर्ता आफ्नै मुलुक फर्कने प्रवृत्ति देखिएको छ। यसले अमेरिकी मुद्रालाई थप सबल बनाएको हो।
‘विनिमयमा प्रभाव पार्ने प्रवृत्तिहरू सुधारिएको खण्डमा भारु बलियो हुन्छ र त्यसले नेपाली मुद्रा थप बलियो हुन्छ, नत्र यो प्रवृत्ति थप माथि जानेछ,’ राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख थापा भन्छन्।
विदेशमा रहेका नेपालीलाई फाइदा, सोधनान्तरमा चाप
डलरको विनिमय उच्च हुँदा हुने सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। हाल विदेशमा झन्डै ३३ लाख कामदार कार्यरत छन्। उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा ‘कन्भर्ट’ भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।
यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा त्यसले सकारात्मक प्रभाव पार्छ। डलर बलियो हुँदा निर्यातबाट हुने डलर आर्जन बढ्छ। यसले निर्यात बढाउन सहयोग मिल्छ।
डलरको विनियम उच्च हुँदा डलरधारीले खरिद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव पर्छ। यस्तै आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पर्छ।
नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा नकारात्मक हुन्छ। आयातका लागि मूलतः डलर खर्च गरिने हुँदा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ।
डलरको विनिमय बढ्दा सरकारले विदेशबाट लिएको साँवा र ऋणको भुक्तानीमा थप भार पर्छ। डलरमा सरकारले खरिद गरेको विद्युत आयोजनाका लागि तिर्नुपर्ने रकम पनि बढ्न जान्छ।
औषधोपचार, अध्ययन, भ्रमण लगायतका लागि विदेश जानेहरूले बढी मूल्यमा डलर खरिद गर्नुपर्दा त्यसले पनि असर पार्छ।
डलर बढ्दा मुलुकको सोधनान्तर स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।