भक्तपुर– शरीरका कुनै अंगमा सानो घाउ लागे पनि दुख्ने र रगत बग्ने हुन्छ। के कसैले आफ्नो जिब्रो नै छेड्ने कल्पना गर्न सक्छ?
भक्तपुरको मध्यपुर थिमिमा यस्तै जात्रा हुन्छ। हरेक वर्ष वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ। जिब्रो छेडिसकेपछि ती व्यक्तिले बाँस एवं निगालोले बनको अर्ध चन्द्राकार महाद्वीप बोकेर बोडे परिक्रममा गराइने चलन छ।
जिब्रो कसरी छेड्ने र जात्रा कसरी गर्ने? भरतबन्धु थापाको तस्बिरहरूको पुस्तक ‘गन्तव्य मध्यपुर थिमि’बाट यो जानकारी पाउन सकिन्छ।
जिब्रो छेड्ने जात्रा।दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइदै आएको बोडेको सिङ्गो एतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग जोडिएको छ। किम्वदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे। यो थाहा पाई भीमदत्त बोडेमा आएर तान्त्रिक विधिअनुसार बोडेभरि पासो राखेर दु:ख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको मानिन्छ।
मध्यपुर थिमि वडा नं.७ नगदेशमा रहेको महादेवको मूर्ति। कालकुट विष सेवन गरेपछिको छटपटी मेटाउन यस कुण्डमा बसेको विश्वास छ।यसरी भरतबन्धुले मध्यपुर थिमिलाई तस्बिरसँगै शब्दबाट पनि चिनाएका छन्। पुस्तकमा समेटिएका तस्बिरमा एक वाक्यदेखि पाँच अनुच्छेदसम्मका जानकारी राखिएको छ। जसले गर्दा तस्बिरका साथै संस्कृति र सम्पदाबारे अतिरिक्त जानकारी मिल्छ।
पुस्तकमा मध्यपुर थिमिका विभिन्न संस्कृति, सम्पदा र जनजीवनसँग सम्बन्धित तस्बिरहरू छन्। नेवारी समुदायका बाहुल्य रहेको यो नगरपालिकामा भएका सम्पदा र संस्कृतिले त्यसको स्पष्ट झल्को दिन्छ।
मध्यपुर थिमि नगरपालिका मुलुककै तेस्रो सानो नगरपालिका हो। तर, सांस्कृतिक सम्पदाले भने भरिपूर्ण छ। काठमाडौँ उपत्यकाका चार बालकुमारीमध्ये एक यहीँ छ। त्यस्तै चार बाराहीमध्ये एक नीलबाराही पनि यहीँ छ। यो नगरमा मनाइने सिन्ह जात्रा (सिन्दुरे जात्रा) पनि मौलिक र प्रख्यात जात्रा हो।
मध्यपुर थिमि वडा नं.८ बोडेमा रहेको कमल पोखरी। हराउँदै गएका संस्कृति र सम्पदालाई जोगाउन नगरपालिकाले विभिन्न अभियान गरेको छ। परम्परागत ‘लायकू भैलः’ ४५ वर्षपछि मनाउन थालिएको छ। त्यसैगरी महाकाली नाच २३ वर्षपछि, सलाचा प्याखँ १७ वर्षपछि र म्येखः प्याखँ नाच १३ वर्षपछि फेरि मनाउन सुरु गरिएको मेयर मदनसुन्दर श्रेष्ठले उल्लेख गरेका छन्।
यो नगरपालिकामा नेवार समुदायका श्रेष्ठ, प्रजापति, ज्यापु, मानन्धर, बज्राचार्य, शाक्य, खड्गी, कुस्ले, राजवाहक आदिको बसोबास छ। मध्यपुर थिमिमा लिच्छवि राजा जिष्णु गुप्तको अभिलेख भेटिएको छ। यसो अभिलेख विसं. ६७० तिरको हो। यसबाट पनि यो सहरको ऐतिहासिकता स्पष्ट हुन्छ। लिच्छविकालमा थिमिलाई ‘थेम्मृंग’ र बोडेलाई बोसिंगग्राम’ भनिन्थ्यो।

थिमिलाई मल्लकालमा ‘मध्यपुर’ भन्न थालिएको हो। नेपाल संवत् ५९० माघ शुक्ल पञ्चमी अर्थात् श्रपञ्चमीका दिन थिमिको बालकुमारी मन्दिर पुनःनिर्माणपछि यसलाई पञ्चमी मध्यपुर भन्न थालिएको हो। उता नगदेशलाई जयपुर र बोडेलाई धर्मपुर भन्न थालियो। साविक दिव्यश्वरी गाविसको क्षेत्र गठ्ठाघर, कौशलटार, लोकन्थली, सानोथिमि र मगरगाउँसहित बोडे र नगदेशलाई समेटेर २०५३ सालमा मध्यपुर थिमि नगरपालिका नामकरण गरिएको थियो।
सिन्दुरे जात्रा।मध्यपुर थिमि नगरपालिकामा २१३ वटा मन्दिर, १३ चैत्य, १९२ पाटी सत्तल, २५ पोखरी, १५ ढोका, १४ डबली छन्। त्यसैगरी ११ वटा विहार, ७६ ढुंगेधारा, ७२ सार्वजनिक इनार र तीन वटा दरबार छन्। यी सबैका नमूना तस्बिरहरु फोटो पुस्तक ‘गन्तव्य मध्यपुर थिमि’मा हेर्न पाइन्छ।
बोडेको नीलबाराही गण नाँच, थिमिको भैलः नाच, नगदेशको महाकाली नाच प्रसिद्ध छन्। सबै जात्रा र नाचको तस्बिर र जानकारी पुस्तकमा समेटिएको छ।
मध्यवपुर थिमि–६ मा जीर्ण रहेको जेतवर्ण विहार हालै मात्र पुनःनिर्माण गरिएको छ। यस विहारमा नेपाल संवत् ८३२ मा राजा भूपतिन्द्र मल्लको पालामा दानपति कल्याण सिंसहितको परिवारले धर्मचित्त उत्पत्ति भई विहार स्थापना गरेको उल्लेख भएको पाइन्छ।
मध्यपुर थिमिबासीको परम्परागत पेशा माटाका भाँडाकुँडा बनाउने, मुकुण्डो बनाउने, तेल उत्पादन गर्ने, चिउरा कुट्ने, कपडा बुन्ने र खेती किसानी हो। नगदेश क्षेत्र हरियो सागसब्जीका लागि प्रसिद्ध छ। जातीय हिसाबले माटाका भाँडा प्रजापति, हरियो सागसब्जी उत्पादन ज्यापु, तेल पेल्ने मानन्धर, मुकुण्डो लेखन चित्रकारहरूको परम्परागत पेशा हो। भरतबन्धुको पुस्तकमा यी जनजीवनलाई पनि समेटिएको छ।
यो फोटो पुस्तकबाट मध्यपुर थिमि नगरपालिका भौतिक र अभौतिक सम्पदाको धनी रहेको जानकारी मिलेको शताब्दी पुरुष सत्यमोहन जोशीले ‘शुभकामना मन्तव्य’मा उल्लेख गरेका छन्। नगरपालिकाले गरिरहेको सम्पदा संरक्षणको प्रयासबाट मध्यपुर थिमि विश्व सम्पदा सूचीमा पर्नसक्ने भन्दै उनले शुभकामना पनि दिएका छन्।
पुस्तक मध्यपुर थिमि नगरपालिकाले प्रकाशन गरेको हो।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।