सुर्खेत– कर्णाली प्रदेश सरकारले ३० वटा आयोजना अघि बढाउन आफ्नो कुल बजेटको ७० प्रतिशतभन्दा बढी बजेट छुट्याएको छ।
प्रदेशले उच्च महत्व दिएका ती आयोजनालाई संघीय सरकारले बेवास्ता गरेपछि प्रदेश सरकारले आफ्नो आगामी बजेटको ठूलो हिस्सा तिनै आयोजनाका लागि विनियोजन गरेको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको प्रतिनिधि मण्डलले गत बैसाख २७ गते काठमाडौं पुगेर प्रदेशका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई २९ बुँदे मागपत्र पेश गरेको थियो। मागपत्रमार्फत कर्णालीको समृद्धिका लागि ‘उच्च महत्व’का २९ आयोजना सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो। तर, संघीय बजेटले त्यसलाई सम्बोधन नगरेपछि उच्च महत्वका ३० आयोजना छनोट गरी प्रदेश सरकारले २० अर्ब रुपैयाँ विनियोजन गरेको हो।
उक्त आयोजना नेपाल सरकार, दाता वा निजी क्षेत्रसँगको सहकार्यमा निर्माण गर्ने सरकारले जनाएको छ। नेपाल सरकारबाट प्राप्त हुने विशेष अनुदान, समपूरक अनुदान, आन्तरिक ऋण एवं नेपाल सरकारको समन्वयमा विकास साझेदारहरूको सहयोग समेतबाट विभिन्न आयोजनाको पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययन र उपयुक्तताका आधारमा प्राथमिकीकरण गरी क्रमिक रुपमा कार्यान्वयन गर्न २० अर्ब रुपैयाँ विनियोजन गरिएको हो।
यी हुन्, उच्च महत्वका ३० आयोजना:
• भेरी–बबई डाइभर्सन, नलसिहंगाड, फुकोट कर्णाली, बेतन कर्णाली जलविद्युत् आयोजनाहरू।
• जमुनाहा–हिल्सा–प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्ग (फास्ट ट्रयाक)
• हुम्ला र डोल्पा जिल्ला सदरमुकाम जोड्ने रणनीतिक राजमार्गहरू,
• कर्णाली राजमार्ग दुई लेन स्तरोन्नति,
• भेरी करिडोर छिन्चु–डोल्पा–धो–मोरिम्ला सडक निर्माण तथा स्तरोन्नति,
• नाग्मा–रारा–नाक्चेलाग्ना पर्यटकीय मार्ग स्तरोन्नति,
• दक्षिण सिमाना बर्दियादेखि नाक्चे लाग्नासम्म सडक स्तरोन्नति,
• सुर्खेत बर्दिया सुरुङ मार्ग निर्माण,
• मुसीकोट जमुनाहा नाका सडक,
• सुर्खेत उपत्यका बृहत् चक्रपथ,
• सुर्खेत दैलेख सडक स्तरोन्नति,
• चौरजहारी जाजरकोट जुम्ला कामी बुढा सहिद मार्ग,
• राप्ती लोक मार्ग स्तरोन्नति,
• कर्णाली, भेरी, बबई लिफ्ट सिँचाइ,
• जडीबुटी प्रशोधन केन्द्र,
• औषधि उद्योग स्थापना,
• सिमेन्ट उद्योग स्थापना र सञ्चालन,
• खनिज उद्योग स्थापना,
• प्रादेशिक रंगशाला निर्माण,
• कर्णाली पर्यटन सर्किट निर्माण,
• अर्गानिक कृषि व्यवसाय प्रबद्र्धन कार्यक्रम,
• प्रादेशिक कृषि प्रतिष्ठान स्थापना,
• कर्णाली आयुर्वेद विश्वविद्यालय स्थापना,
• सुर्खेत मेडिकल कलेज स्थापना,
• एयर एम्बुलेन्स सेवा सञ्चालन,
• कर्णाली विश्वविद्यालय पूर्वाधार निर्माण,
• एकीकृत बस्ती विकास तथा नमुना गाउँशहर कार्यक्रम,
• प्रादेशिक पेट्रोलियम भण्डारण केन्द्र निर्माण,
• विशेष आर्थिक क्षेत्र स्थापना,
• दैलेखको ग्यास र पेट्रोलियम पदार्थ अन्वेषण, उत्खनन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।