काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’को बयान जिल्ला अदालत मोरङमा सुरु भएको छ। मंगलबार अबेर जिल्ला अदालतमा गोरेलाई पेश गरिएकाले बुधबारबाट अदालतमा थुनछेक बयान सुरु गरिएको हो।
जिल्ला अदालतले मंगबारमात्र ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश जारी गरेको थियो। मंगलबार नै गोरेलाई प्रहरीले काठमाडौंमा पक्राउ गरि सार्वजनिक गरेको थियो। गोरेको बयान सकिएपछि थुनछेक बहस हुने जिल्ला अदालतले जनाएको छ।
यसअघि पक्राउ परेका सवै अभियुक्तहरुको बहस समाप्त भएपछि न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले २८ जना प्रतिवादीलाई तत्कालीन प्रमाणबाट दोषी देखिएको भन्दै थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला न्यायाधीश शर्माको इजलासमा बैसाख २७ गतेदेखि बहस सुरु भएको मुद्दा लगातार सुनुवाइ हुँदै मंगलबार आदेश भएको थियो।
गोरेलाई मुख्य अभियुक्तको रुपमा हेरिएकाले उनले दिने बयानमा घटनामा संलग्न थप व्यक्तिहरुको खुलासा हुनसक्ने भएकाले यसलाई अन्य व्यक्तिको पोल खुल्ने रुपमा हेरिएको छ।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोप पत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो। मुद्दामा प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विपक्षी रहेका छन्।
मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दावी अभियोग पत्रमा गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम विगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दावी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।