काठमाडौं– स्थानीय तहको पहिलो चरणको निर्वाचनको एक वर्ष पुग्दा कतिपय जनप्रतिनिधिहरु राम्रो काम गरेर लोकप्रिय भएका छन् त केही काम गर्न नसकेर अलोकप्रिय। स्थानीय तहका केही प्रतिनिधि भने अपराधकर्ममा संलग्न भएर बदनाम पनि भएका छन्। उनीहरु हत्या, ठगीदेखि सुन तस्करीसम्मका अपराधमा उनीहरु मुछिएका छन्।
अपराधमा मुछिएर बदनाम भएका केही जनप्रतिनिधि यस्ता छन्:
१) राजकुमार पौडेल (सुन तस्करी)
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल चुनाव जितेको ४ महिनामै फरार भए। प्रहरीले उनको तस्करीको सुन बरामद गरेपछि उनी फरार भएका थिए।
१० करोड रुपैयाँ बराबरको सुन तस्करीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पौडेलसहित ९ जना विरुद्ध गत असोजमा मुद्दा दायर गरेको थियो। पौडेल र न्युरोडका सुन पसले रमेश खड्कालाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएकोमा केही समय फरार भएका उनीहरु मंसिर पहिलो साता काठमाडौं जिल्ला अदालतमा उपस्थित भई १/१ लाख धरौटीमा छुटेका थिए।
सिआइबीले गत वर्ष भदौ १४ गते १६ किलो सुनसहित सात युवकलाई पक्राउ गरेको थियो। सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा, भक्तपुरका दीपेन्द्र थापा, बानेश्वरका सरोज थापा, काभ्रेका विष्णु गौतम, भक्तपुरका राजेन्द्र खत्री र रविन खत्री तथा धनुषाका दीपककुमार साहलाई पक्राउ गरेको थियो। उनीहरुले रसुवा नाकाबाट २१ किलो सुन तस्करी गरेका थिए, जसमध्ये प्रहरीले टोखाबाट १६ किलो बरामद गरेको थियो।
पक्राउ परेका शेर्पा गाउँपालिका अध्यक्ष पौडेलकै गाउँले हुन्। शेर्पाले प्रहरीको बयानका क्रममा उक्त सुन पौडेल र सुन पसले खड्काको भएको बयान दिएका थिए। सोही आधारमा प्रहरीले उनीहरुमाथि मुद्दा दायर गरेको थियो। शेर्पा पक्राउ परेलगत्तै पौडेल र खड्का विदेश भागेका थिए। पक्राउ परेकामध्ये शेर्पा पुर्पक्षका लागि जेलमा छन्।
पौडेल नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। मुद्दा दायर भए पनि कानुन नहुँदा उनको पद के हुने भन्ने टुंगो लागेको छैन।
२) सियारामप्रसाद कुशवाह (हत्यामा जन्मकैद)
रौतहटको कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह कर्तव्य ज्यान मुद्दामा गत शुक्रबार मात्र जेल चलान भए।
सिआइबीले उनलाई बिहीबार काठमाडौंमा पक्राउ परेको थियो। हिन्दु युवा संघका अध्यक्ष काशी तिवारी हत्याको घटनामा उच्च अदालत जनकपुरले गत फागुन २८ गते उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। फैसला कार्यान्वयनका लागि उनलाई अदालत पेश गरिएकोमा अदालतले जेल चलान गरेको हो।
२०६७ साल असार १२ गते उनीसहितका व्यक्तिहरुले गोली हानी तिवारीको हत्या गरेका थिए। माओवादी नेता समेत रहेका उनी उच्च अदालतको फैसलापछि फरार भएका थिए।
३) सुनबहादुर लामा (चेलीबेटी बेचबिखन, कोठी सञ्चालन)
जनप्रतिनिधिमध्ये सबैभन्दा बदनाम नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ हुन्। उनले गाउँका चेलीहरुलाई भारतमा पुर्यािएर वेश्यावृत्तिमा लगाउँदै आएको प्रहरी अनुसन्धानबाट खुल्यो।
गत वर्ष पुस ७ गते उनलाई सिआइबीले पक्राउ गरेको थियो। पुरानो मुद्दामा उनको बुबाको नाम र ठेगाना नमिलेको भन्दै बैसाख ६ गते सर्वोच्चले उनलाई छाड्न आदेश दिएको थियो। त्यो मुद्दामा छुटे लगत्तै उनलाई पक्राउ गरी सिआइबीले अर्को मुद्दामा जेल चलान गरेको छ।
नुवाकोट जिल्ला अदालतको फैसला अनुसार उनलाई २ वटा मुद्दामा ३७ वर्ष कैद सजाय भएको छ। उनी विरुद्ध अर्को मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। लामा हाल केन्द्रीय कारागारमा छन्।
लामा विगत २५ वर्षदेखि युवती बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ। भारतको दिल्ली तथा मुम्बईमा उनले कोठी चलाउँदै आएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन्। नुवाकोटबाट मात्र उनले २ सयभन्दा धेरै चेलीलाई कोठीमा पुर्याएको प्रहरीको अनुमान छ।
४) उषा चौधरी (प्रहरी कार्यालयमै आगजनी)
जनतालाई कानुन पालनाका लागि प्रोत्साहित गर्ने जिम्मेवारी बोकेकी पर्साकी एक गाउँपालिका उपाध्यक्ष सुरक्षा निकायमाथि नै आक्रमण गरेर गत साता बदनाम भइन्। जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा गत बैसाख २४ गते प्रहरी कार्यालय सेढवामा तोडफोड र आगजनी भएको थियो। जुन घटनामा चौधरी विरुद्ध समेत प्रहरीले सार्वजनिक अपराध मुद्दा अघि बढाएको छ।
उपाध्यक्ष चौधरीलाई पनि पक्राउ गरिएकोमा उनलाई छाडेर अरुलाई हिरासतमा राखिएको छ। जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार उपाध्यक्ष चौधरीलाई हिरासतमुक्त गरी मुद्दा प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बूले बताए।
एउटै मोटरसाइकल चढेका चार जना भारतीयलाई पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीमाथि नै दुर्व्यवहार गरेका थिए। पक्राउ गरेर चौकीमा लगेपछि उपाध्यक्ष चौधरीसहितको टोलीले छाड्न दबाव दिएको थियो। छाड्न नमानेपछि उनीहरुले कार्यालय र प्रहरीको सवारीसाधन तोडफोड गरेका थिए। त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो।
चौकी आक्रमणमा परी ५ प्रहरी घाइते भएका थिए। गाउँपालिकाका उपाध्यक्ष नै त्यसरी प्रहरी चौकी आक्रमणमा उत्रिएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन्।
५) भरतप्रसाद भट्टराई (वैदेशिक रोजगारमा ठगी)
लमजुङका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परी जेल चलान भएका छन्। लमजुङको दूधपोखरी गाउँपालिका–१, का वडा सदस्य भरतप्रसाद भट्टराईलाई बैसाख १२ गते प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार जिल्ला अदालतले उनलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना र १८ महिना कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयन नगरी उनी फरार थिए।
६) झकबहादुर कुमाल (बलात्कार आरोप)
तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ। जंगलमा लगेर बलात्कार गरेको भन्दै उनी विरुद्ध महिलाले प्रहरीमा जाहेरी दिएकी छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँले उनीमाथि छानबिन गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।