राजविराज- प्रविधिको तीव्रतर प्रगतिको युगमा मानिसबाट ठूल्ठूला सफलता प्राप्त भइरहेका छन्। कतिपय अवस्थामा विज्ञानको प्रगतिले नकारात्मक असर पनि नदेखिएका होइनन्। जतिजति प्रगति छ, त्योसँगै हाम्रा सामाजिक संरचना र परम्परा भने बिस्तारै भत्किँदै गइरहेका छन्। संस्कार, संस्कृति, नैतिकता र परम्परा ओझेलमा पर्न थालेकोमा अग्रजहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।
ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष रहेका राजविराजका शिवहरिप्रसाद भट्टराई विज्ञान र सामाजिक परम्पराको फरक महत्व बुझ्न नसक्दा समाजका प्रचलित मान्यता र संरचना ध्वस्त हुन थालेको बताउँछन्। सामाजिक संस्कार, परम्परा र नैतिकता छोड्दै जाँदा समाजमा विकृति र विसंगति बढेको तर्क गर्ने भट्टराई भन्छन्, ‘सामाजिक परम्परा बचाइरहने र सभ्य समाज बनाउने हो भने विज्ञानसँगै नैतिक शिक्षाको पनि उत्तिकै जरुरी छ।’
सप्तरीको कञ्चनरुप नगरपालिका ११ का काँशीनाथ जोशी पनि भट्टराईको भनाइमा सहमत छन्। पछिल्ला घटनाक्रमले नैतिक शिक्षाको महत्वलाई थप पुष्टि गरेको उनी बताउँछन्। ‘नैतिकता विनाको भौतिक शिक्षा मानव जिवनका लागि अपूर्ण छ,’ व्यक्तिगत पहलमा ‘वनसखण्डी विद्याश्रम’ नामक गुरुकुलका सञ्चालक जोशी भन्छन्, ‘विज्ञान र नैतिक शिक्षाले मात्रै मान्छेलाई पूर्ण बनाउँछ।’
तिरहुत गाउँपालिका ५, भेडिया मठमा २०७३ जेठ १४ गतेदेखि सञ्चालनमा आएको गुरुकुलमा हाल २५ विद्यार्थीहरु अध्ययनरत छन्। गुरुकुलमा सामुदायिक विद्यालयको पाठ्यक्रमका अतिरिक्त नैतिक शिक्षा र संस्कृतको थप पढाइ हुने गरेको उनले जानकारी दिए।
गुरुकुललाई विश्वविद्यालय बनाउने लालसा राखेका जोशी जिल्लामा शिक्षाप्रेमीका रुपमा चिनिन्छन्। उनले कञ्चनरुप नगरपालिका ११ (साबिक ठेलिया गाविस–९) मा २ कठ्ठा १० धुर जग्गा दिएर दुर्गा राष्ट्रिय प्राथमिक विद्यालय स्थापना गराएका थिए। करिब ३० वर्षअघि स्थापित उक्त विद्यालय हाल राष्ट्रिय आधारभूत विद्यालयका नामले कक्षा ८ सम्म सञ्चालनमा छ।
यसलगत्तै उनले कञ्चनरुप नगरपालिका–११ (साबिक बरमझिया गाविस) मा पनि १९९३ मा एउटा प्राथमिक विद्यालय स्थापना गराए। जोशीकै पहलमा स्विटजरल्यान्ड निवासी जोशियानी परिथर क्याथोमेन नामकी महिलाले विद्यालयलाई आर्थिक सहयोग गर्न तयार भइन्। अहिले उक्त विद्यालयमा मन्टेश्वरी र अस्पतालसहित माध्यमिक तहको पढाइ सञ्चालनमा छ।
परिवारसहित ४ वर्षसम्म अस्ट्रेलियाको सिड्नी बसेर स्वदेश फर्केका जोशी शिक्षा नै मुलुक विकासको मेरुदण्ड हो भन्ने ठान्छन्। ‘तर, शिक्षा चैँ व्यावाहारिक र नैतिक हुनुपर्यो,' उनी भन्छन्।
जमिनदारी घरानामा हुर्केबढेका जोशी युवावस्थादेखि नै कुलोपैनी निर्माण, गरिब, दु:खीको सेवा लगायतका सामाजिक काममा सक्रिय रहने गरेको स्थानीयहरु बताउँछन्। जोशीको सोच र पहलमा राज्य स्तरबाट पनि सहयोग जुटाउन सके समाजलाई नयाँ र सकारात्मक बाटोमा डोर्याउन मद्दत पुग्ने उनीहरुको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।